सर्लाहीमा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवैको अवस्था गम्भीर
सर्लाही, २८ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिहरूले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । आक्रमणकारीले दुवै जनाको टाउको तथा अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ ।
घटनामा गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । स्थानीय रविन्द्र यादवका अनुसार दुवै जनाको अवस्था गम्भीर रहेको छ ।
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीमाथि रातिको समयमा घरमै सुतिरहेको अवस्थामा आक्रमण भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक जानकारीमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीमाथि आक्रमण गरेको खुलेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले पनि वृद्ध दम्पतीमाथि आक्रमण हुनुको कारण हालसम्म खुल्न नसकेको बताए ।
घरभित्रै सुतिरहेका वृद्ध दम्पतीमाथि भएको यस आक्रमणले स्थानीयवासीलाई त्रसित बनाएको छ । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीको पहिचान तथा पक्राउ गर्नुपर्ने स्थानीयको माग छ ।
आक्रमणको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान भने प्रहरी अनुसन्धानपछि मात्रै खुल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




