राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ नेतृत्वले लियो शपथ
जनकपुरधाम, २८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
उपसभामुख रुबीकुमारी ठाकुरको प्रमुख आतिथ्य तथा सांसद राजकिशोर महतोको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराउनुका साथै निवर्तमान पदाधिकारीहरूले नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले पुस्तकालयको संस्थागत विकास र स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राख्दै पुस्तकालयका लागि एम्बुलेन्स उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पुस्तकालयजस्तो सामाजिक तथा शैक्षिक संस्थाले समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको धारणा राखिन् ।
त्यसैगरी, उनले आफ्नो गाउँबासीलाई दुई हात जोडेर गाउँको सडक तथा नाला सफा राख्न आग्रह गरिन् । सरसफाइ सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै उनले आफ्नो घर, आँगन, सडक र सार्वजनिक स्थान सफा राख्ने जिम्मेवारी सबै नागरिकको भएको बताइन् ।
कार्यक्रममा सांसद राजकिशोर महतो, जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्यप्रताप यादव, समाजसेवी इन्जिनियर प्रकाशचन्द्र साह, इन्जिनियर सुभाषचन्द्र साह, विद्याकरप्रसाद साह, पंकज मिश्रलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष विजय यादवले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकालयको महत्व, यसको सामाजिक योगदान र आगामी योजनाबारे प्रकाश पारेका थिए ।
वक्ताहरूले सार्वजनिक पुस्तकालय पुस्तक पढ्ने स्थान मात्र नभई समाजमा शैक्षिक चेतना, बौद्धिक विकास, साहित्यिक गतिविधि र सामाजिक जागरण फैलाउने महत्वपूर्ण केन्द्र भएको उल्लेख गरे ।
नवनिर्वाचित पदाधिकारीहरूले पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवद्र्धन, युवालाई ज्ञान र शिक्षासँग जोड्ने तथा पुस्तकालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




