–श्यामकुमार ठाकुर
सिरहा, २८ कार्तिक ।
मिथिलाञ्चलको आस्था, श्रद्धा र सांस्कृतिक पहिचानसँग जोडिएको सूर्य उपासनाको महापर्व छठ नजिकिएसँगै सिरहाको मिर्चैया नगरपालिकामा उत्साह र उल्लास छाएको छ ।

पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन नगरका विभिन्न पोखरी तथा खोलाका किनारमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट र व्यवस्थापनको काम तीव्र पारिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष मिर्चैयामा छठ पर्वको तयारी थप भव्य र व्यवस्थित देखिएको छ । नगरका विभिन्न टोल तथा बस्तीमा स्थानीयवासी, युवा र श्रद्धालुहरू सामूहिक रूपमा घाट व्यवस्थापनमा जुटेका छन् ।

पोखरीदेखि खोलासम्मका घाटहरूलाई आकर्षक बनाउने काम भइरहेको छ भने सरसफाइलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

पूर्व बथहा खोला, उत्तर बथहा खोला तथा बजार क्षेत्रका विभिन्न बस्ती हुँदै बग्ने बथहा खोलाका किनारमा छठ घाट निर्माण, सरसफाइ र सजावटको काम भइरहेको छ ।

स्थानीयवासीहरू आ–आफ्नो क्षेत्रका घाटलाई व्यवस्थित र आकर्षक बनाउन सक्रिय देखिएका छन्। यस वर्ष घाटको संख्या र व्यवस्थापनमा समेत वृद्धि भएको स्थानीयको भनाइ छ ।

छठ पर्वअन्तर्गत आज खरना मनाइँदैछ । खरनाको दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ भगवान् सूर्य र छठी माताको पूजाआराधना गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

खरनाका लागि व्रतालुहरूले माटोको चुलोमा शुद्धतापूर्वक खीर, रोटी लगायतका प्रसाद तयार गर्छन् । नयाँ तथा शुद्ध सामग्री प्रयोग गरी बनाइएको प्रसाद पूजा गरेपछि ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेसँगै व्रतालुहरू छठको मुख्य निर्जला व्रतमा प्रवेश गर्छन् ।

छठ पर्वमा शुद्धता, संयम, पवित्रता र कठोर नियमको विशेष महत्त्व रहने भएकाले व्रतालुहरू धार्मिक विधि पूरा गर्न व्यस्त छन् ।

छठ पर्वको मुख्य दिन भोलि साँझ व्रतालुहरूले विभिन्न घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यसका लागि ठकुवा, भुसुवा, नरिवल, उखु, फलफूललगायत पूजाका सामग्रीको तयारी भइरहेको छ ।

भोलिपल्ट बिहान पुनः व्रतालुहरू घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ पर्वको विधिवत् समापन हुनेछ । बिहानको अर्घपछि व्रतालुहरूले व्रत समापन गरी परिवार तथा आफन्तजनलाई प्रसाद वितरण गर्ने परम्परा छ ।

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक एकता, पारिवारिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकसमेत हो । सूर्य र प्रकृतिको उपासना गरिने यस पर्वमा महिला तथा पुरुष दुवैले श्रद्धापूर्वक व्रत बस्ने गर्छन् ।

परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा घरपरिवारको कल्याणको कामना गर्दै मनाइने छठमा सरसफाइ र शुद्धतालाई विशेष महत्त्व दिइन्छ । पर्व सुरु हुनुअघि नै घर, आँगन तथा पूजास्थल सफा गर्ने परम्पराले स्वच्छताको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।

मिर्चैयामा छठ पर्वको धार्मिक विधि, खरनाको महत्त्व तथा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्पराबारे मिथिलेश कुमारी महासेठसँग कुराकानी गरिएको छ । उनले छठ पर्वका विभिन्न धार्मिक विधि तथा पुस्तौँदेखि चल्दै आएका परम्पराबारे जानकारी गराइन् ।

मिर्चैयाका विभिन्न जलाशय तथा खोलाका किनारमा भइरहेको सरसफाइ र सजावटले छठको रौनक थप बढाएको छ । स्थानीय युवा, समाजसेवी तथा श्रद्धालुहरू आ–आफ्नो क्षेत्रका घाटलाई व्यवस्थित बनाउन स्वस्फूर्त रूपमा सक्रिय भएका छन् ।