जनकपुरधाम, २८ कार्तिक । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र दुर्घटनामुक्त बनाउन मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा विपद् उद्धार तथा बोटिङ अभ्यास सम्पन्न गरिएको छ ।

शनिबार बिहान जनकपुरधाममा आयोजित अभ्यासमा विपद्का समयमा हुन सक्ने सम्भावित जोखिम तथा दुर्घटनालाई मध्यनजर गर्दै उद्धार कार्यको नमुना अभ्यास गरिएको हो ।

छठ पर्वका अवसरमा नदी, पोखरी तथा जलाशयहरूमा श्रद्धालु भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले सम्भावित डुबान तथा पानीमा हुने दुर्घटनाबाट मानवीय क्षति हुन नदिन अभ्यास गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार छठ पर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायले आवश्यक तयारी तीव्र पारेको छ ।

उनले पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राख्नुका साथै तत्काल उद्धार गर्न सक्ने क्षमताको अभ्यास गरिएको बताए ।

उनका अनुसार विपद्का बेला समयमै उद्धार हुन सके मानवीय क्षति कम गर्न सकिने भएकाले प्रहरी तथा विपद् व्यवस्थापन टोलीलाई आवश्यक सीप र तयारीसहित परिचालन गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो ।

छठ पर्वमा श्रद्धालु भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । साथै, जलाशय तथा पोखरीमा पूजा गर्न जाने क्रममा सावधानी अपनाउन र सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।