मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
जनकपुरधाम, २८ कार्तिक । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता तथा आपसी सद्भावको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा परम्परागत उत्साह र उमङ्गका साथ सुरु भएको छ ।
कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भएर १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विधिपूर्वक विसर्जन गर्ने परम्परा छ । पर्व सुरु भएसँगै मिथिलाञ्चलका गाउँबस्तीमा दिदीबहिनी, छोरीबुहारीहरू समूह बनाएर परम्परागत गीत गाउँदै सामाचकेवा खेल्न थालेका छन् ।
यस पर्वमा दिदीबहिनीहरूले सामा र चकेवाका विभिन्न आकृति बनाएर रातो रङको बाँसको डालामा सजाउने गर्छन् । साँझपख दियो बालेर गाउँका चोक, दोबाटो, चौबाटो, मन्दिर, विद्यालय, धर्मशाला तथा छठघाटमा पुगेर सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने चलन छ ।
पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार सामाचकेवा पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो बनाई सामा र चकेवालगायतका विभिन्न आकृति निर्माण गर्ने परम्परा रहेको छ ।
उनका अनुसार दिदीबहिनीहरूले लगातार १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायु तथा परिवारको सुखशान्तिको कामना गर्छन् । यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता परम्परागत मैथिली गीत गाउने गरिन्छ ।
पर्वको एघारौँ दिन बिहानै सामाचकेवाका आकृतिहरूलाई पुनः रङ्गरोगन गरी सजाइन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाउने, परम्पराअनुसार फाँर भर्ने तथा दाजुभाइबाट सामाचकेवा फुटाउने विधि पूरा गरिन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।
सामाचकेवा पर्वको अर्को विशेषता विवाहित दिदीबहिनी माइतीघर फर्किने परम्परा हो । पर्व मनाउन टाढाटाढा विवाह गरेर गएका छोरीचेलीसमेत माइती आउने गर्छन् । यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पारिवारिक भेटघाट र आत्मीयता बढाउने अवसर प्रदान गर्छ ।
दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेक तथा आफन्तसँग मिलेर सामूहिक रूपमा यो पर्व मनाउने गरेका छन् । यसले समाजमा आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सामाचकेवा पर्व मधेश प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्सालगायत जिल्लामा विशेष उत्साहका साथ मनाइन्छ । नेपालसँग सीमा जोडिएका भारतीय मिथिला क्षेत्रका जिल्लाहरूमा पनि यो पर्वको उत्तिकै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।
आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा संरक्षणको चुनौती बढिरहेका बेला सामाचकेवा पर्वले नयाँ पुस्तालाई मिथिलाको भाषा, लोकगीत, कला र संस्कृतिसँग जोड्ने काम गर्दै आएको छ ।
दाजुभाइ र दिदीबहिनीबीचको निःस्वार्थ प्रेम, विश्वास र आत्मीयताको सन्देश दिने सामाचकेवा पर्वले मिथिलाञ्चलको सांस्कृतिक पहिचानलाई जीवन्त राख्नुका साथै पुस्तौँदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




