जनकपुरधाम, २१ कार्तिक । धनुषा प्रहरीले जनकपुरधामस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ बंशीचोकस्थित काली होटल एण्ड रेष्टुरेन्टमा शुक्रबार राति छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले राति १२ बजेर २० मिनेटमा होटलमा छापा मारेको थियो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५२ वर्षीय सुनचाँदी व्यवसायी अरविन्द ठाकुर, सोही ठाउँका ३२ वर्षीय राजु होटलका सञ्चालक सुनिल कुमार साह, महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ४६ वर्षीय गुलाम मुस्तफा, मनराशिशवा नगरपालिका–७ का २७ वर्षीय कृष्ण महतो र सर्लाहीको पर्सा गाउँपालिका–१ का २२ वर्षीय प्रशान्त यादव रहेका छन् ।

प्रहरीले जुवाखालबाट नगद ८८ हजार २ सय ८० रुपैयाँ, विभिन्न व्यक्तिका ६ थान मोबाइल र १३ सेट ताससमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको हो ।

उनले जुवातासलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जानकारी दिए ।

पक्राउ परेका पाँचै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।