जनकपुरधाम, २६ असोज । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब २ लाख ५० हजार रुपैयाँ मूल्यका विभिन्न सामान नियन्त्रणमा लिएर जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विभिन्न मिति र स्थानमा प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएका प्रहरी टोलीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेका हुन् ।

नियन्त्रणमा लिइएका सामानमा किराना सामग्री, इलेक्ट्रोनिक्स तथा लत्ताकपडालगायतका वस्तु रहेका छन् । बरामद सामानको कुल मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा कारबाहीका लागि बरामद सामान सोमबार जनकपुर भन्सार कार्यालयमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जानकारी दिए ।

प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।