मटिहानीमा अपाङ्गता भएका ४० जना व्यक्तिलाई ह्वीलचेयर वितरण
महोत्तरी, २६ असोज । महोत्तरीको मटिहानी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमन तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले ह्वीलचेयर वितरण कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख हरिप्रसाद मण्डलले ह्वीलचेयर वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य कार्यालय महोत्तरीबाट प्राप्त ह्वीलचेयर मटिहानी नगरपालिकाभित्रका ४० जना शारीरिक अशक्तता भएका व्यक्तिलाई वितरण गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले जानकारी दिए ।
ह्वीलचेयरको अभावमा आवागमनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूलाई यसबाट राहत पुग्ने विश्वास गरिएको छ ।

ह्वीलचेयर वितरणले उनीहरूको दैनिक गतिविधि सहज बनाउनुका साथै आत्मनिर्भरता र सामाजिक सहभागिता बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा मटिहानी स्वास्थ्य चौकीका मेडिकल अधिकृत कृष्णकुमार परियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, सूचना तथा प्रविधि अधिकृत जयकुमार यादव, सि.अ.हे.व. अधिकृत नागेश्वर पाण्डे, जनस्वास्थ्य अधिकृत स्मृतिलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालय महोत्तरीको सहयोग तथा मटिहानी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन र उनीहरूको गतिशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।



