जनकपुरधाम, २६ असोज । सामाजिक सञ्जाल टिकटकमार्फत डरत्रास, धाकधम्की तथा सामाजिक हिंसा फैलाउने प्रकृतिको भिडियो सार्वजनिक गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय काले भन्ने पशुपति पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानले टिकटकमा समाजमा डरत्रास र धाकधम्की सिर्जना गर्नुका साथै हिंसा फैलाउन सक्ने प्रकृतिको भिडियो अपलोड गरेको पाइएको थियो ।

सोही आधारमा प्रहरीले उनलाई सोमबार बिहान करिब ८ः३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिँदै पक्राउ परेका युवकउपर अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

सामाजिक सञ्जालको प्रयोग गरी समाजमा डरत्रास, धाकधम्की तथा हिंसा फैलाउने गतिविधि गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।