जनकपुरधाम, २६ असोज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियाबाट प्रहरीले काठ लोड गरिएको ट्र्याक्टर र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार बिहान करिब ३:३० बजे पौडेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको नम्बर प्लेटमा ‘अन टेस्ट’ लेखिएको ट्र्याक्टरमा मसला (सपेताको) काठ लोड गरी सडकछेउमा राखिएको सूचना प्राप्त भएको थियो ।

सूचनापछि तत्काल खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा काठ लोड गरिएको ट्र्याक्टरसँगै मधेश प्रदेश ०२–००१ ब ७९४ नम्बरको मोटरसाइकलसमेत बेवारिसे अवस्थामा फेला पारेको थियो ।

प्रहरीले उक्त ट्र्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिएका हुन् ।