सोनामाई शक्तिपीठमा भूत मेला सुरु
महोत्तरी, २६ असोज । बडादशैँको घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका–७ भोइलस्थित प्रसिद्ध सोनामाई शक्तिपीठमा परम्परागत भूत मेला सुरु भएको छ ।
मेलाको पहिलो दिनदेखि नै देवीको दर्शन गर्न आउने भक्तजन तथा ‘कारनी’ भनिने पीडितहरूको भीड बढ्न थालेको छ ।
मिथिलाकै प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित सोनामाई शक्तिपीठमा हरेक वर्ष दशैँका अवसरमा विशेष पूजा, धार्मिक अनुष्ठान र भूत मेला आयोजना हुँदै आएको छ ।
यस वर्ष पनि घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजाआजा सञ्चालन हुने र दशैँको चौथीदेखि अष्टमीसम्म भूत मेलामा विशेष चहलपहल रहने सोनामाई पूजा समितिले जनाएको छ ।
पूजा समितिका अनुसार यस वर्ष मेला अवधिमा पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । महोत्तरीसहित मधेश प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य भाग र भारतबाट समेत श्रद्धालुहरू सोनामाईको दर्शनका लागि आउने गरेका छन् ।
मन्दिरका पुजारी केदार झाका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि दर्शनार्थी तथा कारनी आउने क्रम सुरु भएको छ । स्थानीय जनविश्वासअनुसार भूतप्रेत, बोक्साबोक्सी तथा दुष्ट आत्माको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू देवीको दर्शन र पूजाआराधना गरेपछि निको हुने विश्वासका साथ यहाँ आउने गर्छन् ।
पुजारी रमेश झाका अनुसार मन्दिर परिसरमा पुगेपछि कारनी भनिएका केही व्यक्तिले कराउने, रुने, हाँस्ने तथा लड्नेजस्ता व्यवहार देखाउँदै देवीको दरबारसम्म पुग्ने गर्छन् । देवीको दर्शन र पूजापछि समस्या समाधान हुने तथा निको भएर घर फर्किने जनविश्वास रहेको उनले बताए ।
महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । त्यसैगरी, भारतको सीतामढी, मधुवनी र पटनाबाट समेत श्रद्धालुहरू सोनामाईको दर्शन गर्न पुग्ने गरेका छन् ।
भक्तजनको बढ्दो चापलाई ध्यानमा राख्दै मेला अवधिमा सुरक्षा तथा रातिको बासका लागि आवश्यक व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ ।
स्थानीय जनश्रुतिअनुसार करिब पाँच सय वर्ष पुरानो इतिहास बोकेको सोनामाई शक्तिपीठमा नवरात्रको पहिलो दिन कलश स्थापना गरी विशेष पूजा सुरु गरिन्छ । सप्तमीमा फूलपाती भित्र्याउने, अष्टमीमा बोकाको तथा नवमीमा राँगाको बलि दिने परम्परासमेत यहाँ रहिआएको छ ।
जलेश्वरबाट करिब २३ किलोमिटर उत्तर र बर्दिबासबाट करिब १७ किलोमिटर दक्षिणमा अवस्थित यस शक्तिपीठमा दैनिक पूजापाठ तथा आरती हुँदै आएको छ । दशैँका बेला लाग्ने भूत मेला यहाँको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा परिचित छ ।
यद्यपि, यस क्षेत्रको धार्मिक महत्त्व र ऐतिहासिक पहिचानलाई थप उजागर गर्न मन्दिरको पूर्वाधार विकास, संरक्षण तथा प्रचारप्रसारमा जोड दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।
आवश्यक पूर्वाधार निर्माण र व्यवस्थित व्यवस्थापन गर्न सके सोनामाई शक्तिपीठलाई मिथिला क्षेत्रको प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको विश्वास छ ।


