राजदेवीसहितका शक्तिपीठमा पूजाको तयारीबारे सर्वपक्षीय छलफल
जनकपुरधाम, १० असोज । जनकपुरधाममा आगामी विजयादशमीका अवसरमा आयोजना हुने राजदेवी, बौद्धिमाता तथा अन्नपूर्णा माताको पूजाको व्यवस्थापन र बोकाबलीलाई व्यवस्थित बनाउने विषयमा सरोकारवालाबीच बृहत् छलफल गरिएको छ ।
श्री राम युवा कमिटी तथा श्री महावीर युवा कमिटीको संयुक्त आयोजनामा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, मन्दिर व्यवस्थापन समिति, युवा क्लब तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले धार्मिक आस्था र परम्परालाई सम्मान गर्दै पूजाआजा तथा बोकाबलीको व्यवस्थापन सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले गर्नुपर्नेमा जोड दिए । उनले ठूलो संख्यामा श्रद्धालु तथा भक्तजनको उपस्थिति हुने भएकाले भीड व्यवस्थापन, सुरक्षा, यातायात र आकस्मिक अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले पूजा तथा बोकाबलीका क्रममा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रशासनले सुरक्षा व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा सुरक्षा निकायका प्रतिनिधिहरूले भक्तजनको आवागमनलाई सहज बनाउन प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ, ट्राफिक व्यवस्थापन र संवेदनशील स्थानमा सुरक्षा निगरानी बढाउने विषयमा सुझाव दिएका थिए । उनीहरूले पूजास्थलमा स्वयंसेवक परिचालन तथा आपत्कालीन उद्धारका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, आयोजक युवा कमिटीका प्रतिनिधिहरूले पूजाको मौलिकता र धार्मिक परम्परा कायम राख्दै विगतका अनुभवबाट सिकेर यस वर्ष व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताएका थिए । उनीहरूले भक्तजनको सुविधाका साथै बोकाबलीका क्रममा स्वच्छता, अनुशासन र सुरक्षा मापदण्डलाई प्राथमिकतामा राखिने जानकारी दिए ।
छलफलमा स्थानीयवासी तथा अन्य सरोकारवालाले पूजास्थल वरपरको सरसफाइ, खानेपानी, विद्युत्, स्वास्थ्य सेवा, सडक तथा यातायात व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

विजयादशमीको समयमा जनकपुरधाममा विभिन्न शक्तिपीठ तथा मन्दिरमा ठूलो संख्यामा श्रद्धालु पुग्ने भएकाले पूजाआजा र बोकाबलीलाई व्यवस्थित बनाउन आयोजक, स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई महत्वपूर्ण मानिएको छ ।


