कानुनले भन्छ ‘काम नगर’, कृष्णा सोध्छन्–‘मेरो आमालाई कसले खुवाउने?’
–ज्योति झा
जनकपुरधाम, ३० भदौ । माथि तस्बिरमा देखिएका बालक १२–१३ वर्षका छन् । यो उमेरमा उनको हातमा किताब र काँपी हुनुपर्ने हो । काँधमा विद्यालयको झोला, आँखामा भविष्यको सपना र मनमा खेल्ने उमङ्ग हुनुपर्ने हो । बिहान विद्यालय, दिउँसो साथीभाइ र साँझ आमाको काख बाल्यकालको सामान्य दिनचर्या यस्तै हुनुपर्ने हो । तर, कृष्णा बडी लोहारको बाल्यकाल सामान्य छैन । उनका हातमा किताबभन्दा काम छ । विद्यालयको कक्षाभन्दा गाडीको संसारसँग उनको बढी परिचय छ । राति घरको ओछ्यानमा नभइ गाडीमै निदाउँछन् । महिनाको १० हजार रुपैयाँ कमाउँछन् । त्यही पैसाले आमाछोराको घर चल्छ ।
कृष्णा भन्छन्, ‘पढ्न त रहर थियो, तर पढ्नलाई पेट भरेको पनि हुनु पर्छ’ । यो वाक्यमा उनको उमेरभन्दा धेरै ठूलो जीवन लुकेको छ । कृष्णा आफू १६ वर्षको भएको बताउँदै हिँडछन् । किन? बालश्रमसम्बन्धी कानुन र त्यसबाट उत्पन्न हुन सक्ने समस्याको डरले । उनी वास्तविक उमेरभन्दा ठूलो देखिन र सुनिन खोजिरहेका छैनन् । उनी बाध्य छन् ।
कानुनले बालबालिकालाई श्रमको शोषणबाट जोगाउन खोज्छ । तर, कृष्णाजस्ता बालबालिकाको जीवनमा कानुन पुग्नुअघि नै भोक पुगिसकेको हुन्छ । उनी चार वर्षदेखि गाडीमा काम गरिरहेका छन् । बिहानदेखि काम । बाहिर खाना । राति गाडीमै निद्रा । समय मिल्यो भने आमालाई भेट्न घर । उनको बाल्यकालको भूगोल यति नै हो ।
कृष्णाको परिवारको कथा उनको कामभन्दा अझ पीडादायी छ । उनका बुवा करिव ११/१२ वर्षदेखि जेलमा छन् । जग्गा विवादका क्रममा आफ्नै आमाको हत्या गरेको घटनामा बुवा जेल परेको कृष्णा बताउँछन् । ‘बुवा जेलमा छन’ भन्ने वाक्य बोल्दा उनी केहीबेर रोकिए । अनुहारमा भावुकता देखियो । त्यसपछि उनले सुनाएको अर्को कथा झन कठोर छ ।
बुवाले आफ्नै आमाको हत्या गरेपछि कृष्णाका हजुरबुवाले बुहारी र नातिसँग सम्बन्ध तोडेको उनी बताउँछन् । छोराको अपराधको असर परिवारका बाँकी सदस्यले पनि भोग्नुपर्यो । नामका आफन्त छन् । तर, साथ दिने कोही छैनन् । ‘मलाई हेर्ने मेरी आमा र मेरी आमालाई हेर्ने म बाहेक कोही छैन,’ कृष्णा भन्छन् । उनी आमाको एक्लो सन्तान हुन् । त्यसैले कृष्णाका लागि आमा मात्र आमा नभइ उनको परिवार, जिम्मेवारी र संसार सबै हुन् ।
बालश्रमको चर्चा हुँदा हामी प्रायः बालकको हातमा रहेको काम देख्छौं । तर, त्यो हात कामसम्म कसरी पुग्यो भन्ने कथा कमै खोज्छौं । कृष्णाको हातमा काम आउनुअघि उनको परिवारमा अभाव आएको थियो । आर्थिक संकट आयो । अनि बालकले आफ्नो बाल्यकालभन्दा पहिले जिम्मेवारी समात्यो । पढाइ रोकियो । काम सुरु भयो । यो एउटा बालकको रोजाइ थियो कि परिस्थितिको आदेश? कृष्णाको उत्तर स्पष्ट छ–बाध्यता ।
कृष्णासँग कुरा गर्दा उनको उमेर बिर्सन सकिन्छ । उनी फुर्तिला छन् । व्यवहारिक छन् । इमानदार छन् । कामप्रति जिम्मेवार देखिन्छन् । तर, यही व्यवहारिकता प्रश्न पनि हो । बालबालिकाले समयभन्दा अगाडि जिम्मेवारी पाउँदा उनीहरू उमेरभन्दा चाँडो ‘ठूलो’ हुन सक्छन् । घरको समस्या, आर्थिक अभाव र अभिभावकीय जिम्मेवारीले उनीहरूलाई आफूभन्दा ठूलो उमेरका मानिसजस्तै सोच्न बाध्य पार्न सक्छ ।
तर, मनोवैज्ञानिक रूपमा ‘ठूलो सोच्नु’ र स्वस्थ रूपमा हुर्कनु एउटै कुरा होइन । बच्चाले जिम्मेवारी बुझ्नु राम्रो हो । तर, बच्चाले आफ्नो बाल्यकाल गुमाएर जिम्मेवारी बोक्नु समाजका लागि चेतावनी हो । कृष्णाको व्यवहारिकता प्रशंसनीय छ । तर, त्यो व्यवहारिकता जन्मजात हो कि परिस्थितिले थोपरेको हो?यही प्रश्न महत्वपूर्ण छ ।
बालश्रमविरुद्धका कानुन र अभियानबारे कृष्णालाई केही जानकारी छ । उनी आफ्नो जीवनको विरोधाभास आफैं बुझ्छन् । उनको प्रश्न छ ‘बच्चालाई काम गराउनु हुँदैन रे । अनि बच्चाको घर कसले चलाउँछ?’ अर्को प्रश्न पनि छ ‘एनजीओले चलाउँछ कि सरकारले?’ उनको प्रश्नको जवाफ सजिलो छैन । बालश्रम रोक्नुपर्छ । यसमा विवाद छैन । तर, काम गरिरहेको बालकलाई कामबाट हटाएर घरमा भोक छाडने हो भने त्यो समाधान हो कि अर्को संकट?
कृष्णाजस्ता बालबालिकालाई कामबाट उद्धार गरेपछि उनीहरूको परिवारको आय कसरी सुनिश्चित गर्ने? उनीहरूलाई विद्यालयमा कसरी फर्काउने? आमाबुवाको जीविकोपार्जन कसरी सुरक्षित गर्ने? बालश्रम अन्त्य गर्ने नीति सफल हुन यी प्रश्नको उत्तर पनि आवश्यक छ ।
सबैभन्दा ठूलो डर कानुन होइन । काम गुम्ने डर हो । किनकि काम गुम्यो भने आमाछोराको घर कसरी चल्छ भन्ने प्रश्न उनलाई थाहा छ । कानुनले उनको उमेर हेर्छ । तर, कृष्णा आफ्नो परिवारको भान्सालाई हेर्छन् । कानुनले भन्छ बालकले काम गर्नु हुँदैन । कृष्णा सोच्छन्, ‘काम नगरे आमालाई कसले खुवाउँछ?’ यहीँ आएर बालश्रमको बहस जटिल हुन्छ । बालश्रम रोक्ने नाममा बालकको श्रम खोस्नु पर्याप्त छैन । उसको परिवारलाई बाँच्ने आधार दिनुपर्छ । विद्यालयमा फर्किने बाटो खोल्नुपर्छ । सामाजिक सुरक्षाको पहुँच पु¥याउनुपर्छ । अनि मात्रै बालकको हातबाट काम हटाएर त्यसमा किताब राख्न सकिन्छ ।
कृष्णा अहिले काम गर्छन् । तर, उनको सपना काममै सीमित छैन । उनी उमेर पुगेपछि विदेश जाने सोचमा छन् । सायद विदेश उनको आँखामा अवसर हो । सायद गरिबीबाट बाहिरिने बाटो । सायद आमालाई राम्रो जीवन दिने सपना । तर, प्रश्न फेरि उही छ–१२ वर्षको बालकले आफ्नो भविष्य सोच्नुपर्ने हो कि वर्तमानको पेट?
कृष्णाको कथा बालश्रमलाई सही ठहर्याउने कथा होइन । यो बालश्रमको जरा खोज्ने कथा हो । बालबालिकालाई काममा लगाउनु हुँदैन । उनीहरूको श्रम शोषण हुनु हुँदैन । उनीहरूलाई शिक्षा, सुरक्षा, खेल र स्वस्थ वातावरणमा हुर्कने अधिकार छ । तर, प्रत्येक बालश्रमको पछाडि एउटै कथा हुँदैन । कतै अभिभावकको गरिबी हुन्छ । कतै परिवार विघटन । कतै अभिभावकविहीन अवस्था । कतै ऋण । कतै भोक । कतै घर चलाउने अर्को व्यक्ति नै हुँदैन । त्यसैले कृष्णाजस्ता बालबालिकालाई ‘श्रमिक’ भनेर हेर्नु पर्याप्त हुँदैन । उनीहरू परिस्थितिले काममा धकेलेका बालबालिका पनि हुन् ।


