मधेशमा राजनीतिक शक्तिको पुनर्संगठनको निम्ति आत्मआलोचना जरुरी: अध्यक्ष लाल

जनकपुरधाम, २९ साउन । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेशको राजनीतिक शक्तिको पुनर्संगठनको निम्ति सबभन्दा पहिले विगतमा भएका गरिएका गलतीहरु स्वीकारी आत्मआलोचना गरिनु आवश्यक रहेको बताएका छन् ।
महत्वपूर्ण र चर्चित विषयहरुमाथि जनकपुरधाममा ‘टुडे आवाज’संगको कुराकानीमा उनले भने,’मलाई लाग्छ, पहिले यो जवाफदेही स्वीकारिनु पर्दछ । सार्वजनिक आत्मआलोचना हुनु पर्दछ । हामीले यी गलतीहरु गर्यौं, अब गर्दैनौ र आइन्दा यसरी बढ्छौं भनी पत्यारिलो किसिमले प्रतिज्ञा गरिनु पर्दछ । तर, यो जरुरी बोध अहिलेसम्म आइसकेको छैन । जबसम्म आउँदैन, जनता सुन्न तयार हुँदैन ।’ प्रस्तुत छ अहिलेका जल्दा बल्दा विषयहरुमाथि अध्यक्ष लालसँग गरिएको कुराकानी…
१. मधेश केन्द्रित र अन्य गरी सात राजनीतिक दलहरुले अग्रगामी मोर्चाको गठन गरेका छन् । यसका घटक दलहरुले मधेशका दलहरु एक ठाउँमा आएको भनेर पनि व्याख्या गर्दैछन् । तमलोपा यसमा शामिल छैन । किन होला ?
हामीले बुझ्नु पर्ने पहिलो कुरा त के हो भने यो सात दलीय मोर्चा मधेश केन्द्रित दलहरुको मोर्चा वा तिनको साझा प्लेटफर्म चाहिं होइन । वहाँहरु विचार मिल्नेहरुको मोर्चा बनाउनुभएको हो र यसलाई अग्रगामी भनेर भन्नुभएको छ । कुल मिलाएर संघियता, समावेशिता र असमानताको लागि आगाडि बढ्ने भन्नुभएको छ । अग्रगामिताको कुरा गर्नुभएको छ । पुरानै राग जस्तो लागे पनि यो एउटा सकारात्मक पक्ष चाहिं अवश्य हो । तर, नयाँ राजनीतिक परिदृश्यको मागलाई सम्वोधित गर्ने अथवा त्यतातिरको चाहनालाई आश्वस्त पार्ने खालको समयसापेक्ष विषयवस्तुको उत्थान गरिएको भने देखिन्न ।
तैपनि प्रयास भने महत्वपूर्ण छ । गणतन्त्र र बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीमाथि विभिन्न कोणहरुबाट लगातार भइरहेको आक्रमणको अवस्थामा यो उभारलाई राम्रै भन्न सकिन्छ ।
जहाँसम्म तमलोपाको सवाल हो । तमलोपा वैचारिक रुपमा कतिपय कुरामा भिन्न मत राख्दछ । गणतन्त्र, संसदीय बहुदलीय लोकतन्त्र हाम्रो विश्वासको मूल आधार हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सोचसँग हामी सहमत हुन सक्दैनौं । यो तानाशाही फस्ट्याउने वातावरणको लागि मलजल तयार गर्ने प्रयत्न हुनेछ । अर्को कुरा, संघियतामा प्रादेशिक राजनीतिक दलहरुको स्थान र मान्यताको हामी पक्षपाती हौं ।
प्रदेशलाई निर्वाचन क्षेत्र मानेर पूर्ण र व्यवस्थित समानुपातिक निर्वाचन प्रणाली भयो भने वास्तविक समानुपातिक प्रतिनिधित्व हुनेछ र निर्वाचनजन्य कुप्रवृतिहरुको अन्त्य पनि सम्भव हुनेछ भन्ने हाम्रो सोच हो ।
हामीसँग वहाँहरुको कुनै छलफल भएन । शायद वहाँहरुले पनि यी असहमतिका बूँदाहरुलाई ध्यानमा राखेर नै छलफल गर्नु भएन । जे होस्, मूल कुरो यही हो कि हामी यस सात दलीय मोर्चामा छैनौं ।
२. अहिले गठित सात दलीय अग्रगामी मोर्चा वामपंथीहरुको वामवादी मोर्चा हो भनेर पनि टिप्पणीहरु भइरहेका छन् । तपाईंको नेतृत्वको तमलोपा, हृदयेशजी नेतृत्वको जनता प्रगतिशील पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी लोकतन्त्रवादीहरुको दल भएकोले यस मोर्चामा सहभागी नरहेको सुनिन्छ । कारण यही त होइन?
तराई मधेश लोकतान्त्रिक पार्टी लोकतन्त्रवादी पार्टी हो । अहिले गठित सात दलीय मोर्चा वास्तवमा वामवादी हो, होइन भन्न सक्दिन । तर, तपाईंले भने जसरीका टिप्पणीहरु मैले पनि सुनेको छु । त्यसका देखिने केही कारणहरु पनि छन् । केही नेताहरु माओवादी पृष्ठभूमि वा वामपन्थसंग जोडिएका हुन् । सबै वामपन्थीहरुलाई एउटै छातामुनि ल्याउने कताकता नियोजित कसरत भइरहेको पनि सुनिन्छ । त्यसकै एउटा यो पनि स्टेप हो भनेर भन्छन् । तैपनि, यसै आधारमा कुनै निष्कर्ष खिचिहाल्नु उचित हुँदैन त यस्तै हो भनेर भन्न चाहिं सकिंदैन ।
यस मोर्चाको एउटा घटकमा वामपन्थी पृष्ठभूमिका बाहेक लोकतन्त्रका पारंगत प्रवक्ता पनि हुनुहुन्छ, अनुभवी पंचायतकालदेखि नै सत्ता चलाएका राजनीतिज्ञहरु पनि हुनुहुन्छ । त्यसकारण वैचारिक रुपमा यो मोर्चा एकरुप चाहिं पक्कै होइन । जहाँसम्म मधेश, थरुहट र आदिवासी-जनजाति समूहको कुरा हो हामीलाई के लाग्छ भने अब भावनात्मक भन्दा पनि क्षेत्रीय प्रादेशिक मुद्दा र स्पष्ट राजनैतिक विचारको आधारमा एकत्रित हुनु श्रेयस्कर हुनेछ । छ्यासमिसले कुनै निश्चित बाटो लिन दिंदैन, दिने छैन । त्यसउसले वैचारिक हिसाबले एकत्रित हुनु जरुरी देखिन्छ ।
मधेश र थरुहटका संसदीय लोकतन्त्र, गणतन्त्र र संघियताप्रति प्रतिवद्ध शक्तिहरु एक ठाउँमा आएर प्रदेशिक एजेन्डाका साथसाथै संसदीय लोकतन्त्रमाथि मडाडिरहेको खतराको मुकाबिला गर्न राष्ट्रिय स्तरमा समेत लोकतन्त्रवादीहरुको मोर्चा निर्माण गर्नु उचित हुने हाम्रो धारणा हो ।
३. अग्रगामी मोर्चाको अवधारणा-पत्र कस्तो लाग्यो? कुनै टिप्पणी?
यसमा सबैथोक छ । केही नछुटोस् भनेर कोचिएको छ । सबैले त्यसै गर्ने गरेका छन् । नेपालको राजनैतिक अवधारणाहरुको घोषित पत्रहरु यस्तै हुन्छन् र यो पनि यस्तै हो । कुनै नयाँ सोच देखिंदैन । हामी एक ठाउँमा भयौं है भन्नलाई मात्र हो शायद । होइन भने अहिले सबभन्दा पहिले जनतामा फैलिएको आशंका र डरबारे जोडदार किसिमबाट आवाज आउनु पर्थ्यो ।
गणतन्त्र समाप्त गर्ने षडयन्त्रको गन्ध, संघिय संरचनामा प्रतिकूल परिवर्तन गरी प्रदेशसभा खारेज गरी संघियताको हुर्मत निकालेर बेदम पार्ने प्रतिक्रियावादी सोच, संसदीय लोकतन्त्रको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याएर शक्तिको एक मात्र केन्द्र बनाई तानाशाह जन्माउने र संसदप्रतिको जबाफदेहिताको हत्या गर्ने प्रस्ताव जस्ता विषयहरुले त्रास र भयको वातावरण उत्पन्न गरिरहेका छन् । यी मूल विषयहरुबारे स्पष्ट सोच र प्रतिवद्धताको यस अवधारणा-पत्रमा आभाव देखिन्छ । यी महत्वपूर्ण विषयहरुमा घटकहरु आफैं स्पष्ट छैनन् ।
४. खास गरी मधेश र थरुहटको सम्बन्धमा अवधारणा-पत्रलाई कसरी देख्नु हुन्छ?
मधेशका जनतामा अब यस्ता कुराहरु फगत भाषणका कुराहरु मात्र हुन् भन्ने परेको छ । मधेशीहरु मधेशको सशक्त र संस्थागत राजनीतिक शक्ति होस् भन्ने चाहन्छन् । तर, विगतका अनुभवले विश्वासको ठूलो संकट जन्माइदिएको छ । देश संघिय संरचनामा गइसकेपछि संरचनागत र अधिकारको दृष्टिले धेरै कमजोरीहरु रहिरहे पनि आखिर मधेश प्रदेश सरकार त चलाइयो नि? मधेशलाई कसरी आगाडि बढाउने, विकासको रणनीति के हुने भन्नेतिर कहिल्यै ध्यान गएको देखिएन ।
कागजी कामका लागि राजनीतिक नियुक्तिहरु भए । तर, परिणाम केही आएन । कृषिमा सुधारको परिपक्व सुनियोजित कार्यक्रम, शिक्षाको गुणस्तरीय अभियान, स्वास्थ्य सुविधाको निमित्त भएकै सरकारी र सामुदायिक अस्पतालहरुको सुसंचालन तर्फ कसैको ध्यान गएको देखिएन ।
लामो अवधिको एकीकृत योजनाको निर्माण पनि गरिएन, वर्षैपिच्छे बजेट बाँड्ने काम मात्र भयो । भागबन्डा गरी भाग लगाइयो । अस्पताल र विद्यालयहरुको स्थितिमाथि परिणामदायी नजर त एजेन्डामै रहेन । आफ्नो मान्छे भर्तीको ध्यान मात्र रह्यो । रोजगारको निमित्त उद्योग र व्यापार प्रवर्द्धनको निमित्त जनताको आगाडि केही आउन सकेन । जताततै भ्रष्टाचार देखियो । संघियताप्रति माया राख्ने र संघर्ष गर्ने आन्दोलनकारीहरु पन्छाएर नातावाद जातवादलाई चरममा उतारियो । समानुपातिक निर्वाचन पद्धतिको समावेशी प्रतिनिधित्व भन्दा सम्बन्धवादको निंति हदै दुरुपयोग भएकै हो । यी सब नभएका भए मधेश अहिले धेरै आगाडि बढिसक्थ्यो ।
५. प्रगतिको गति झन तिब्र हुँदै जान्थ्यो। यी सबका लागि जिम्मेवार को?
सरकारमा रहेका वा सरकारमा पठाउने सत्ताको खेल खेलिरहेका शिर्षस्थ र वरिष्ठ नेताहरु ! मलाई लाग्छ पहिले यो जबाफदेही स्वीकारिनु पर्दछ । सार्वजनिक आत्मआलोचना हुनु पर्दछ । हामीले यी गलतीहरु गर्यौं, अब गर्दैनौ र आइन्दा यसरी बढ्छौं भनी पत्यारिलो किसिमले प्रतिज्ञा गरिनु पर्दछ । तर, यो जरुरी बोध अहिलेसम्म आइसकेको छैन । जबसम्म आउँदैन, जनता सुन्न तयार हुँदैन ।
६. अब नेतृत्व युवा जमाततिर जानु पर्दछ भन्ने आवाज मधेश र थरुहटमा पनि सुनिन्छ । यसबारे तपाईंको धारणा के छ? अब यो जरुरी नै भइसकेको लाग्दैन?
यो त शुरुदेखि नै हुनु पर्थ्यो । मधेशमा मात्र होइन पूरै देशमा हुनु पर्थ्यो । तर, भएन । यही दुर्भाग्य हो – देशको र मधेशको तथा लोकतन्त्रको र त्यसको मूल तत्त्व विधिको सुशासनको । सबै राजनीतिक दलहरुमा अजिङ्गरहरु जस्तै फण काढेर बसेको देखियो ।
नमरुन्जेल नहट्ने र नेतृत्व उनको पैतृक सम्पत्ति रहेको मानसिकता च्यापेर हिडेको देखियो । परिणामस्वरुप नेतृत्वको क्रमवद्ध विकास हुन सकेन । शिर्षदेखि तलसम्म नेतृत्वको सबै स्तरमा खास व्यक्तिप्रति लोयलले मात्र स्थान पाउने परिपाटी बस्यो । अहिलेको दुरावस्थाको यही कारण हो । एक जनाको मात्र निर्णय चल्ने स्थितिमा यस्तै हुन्छ । यो लोकतान्त्रिक परिपाटी नै भएन । वास्तवमा भन्ने हो भने लोकतान्त्रिक परिपाटी र संस्कार हुर्किन नदिने नेताहरुलाई लोकतन्त्रवादी भनेर स्वीकार्नु नै गल्ती हो । अहिले देखिएको भ्याकुम यसै कारणले जन्मेको हो ।
मेरो विचारमा नेतृत्व परिवर्त्तन भनेको परिस्थिति र चुनौतीको सही मूल्याङ्कन गरी प्रगतिको दिशामा देश र समाजलाई सम्भव गति दिने सोचको साथ पहल र प्रयत्न हो । यो सही हो कि युवाहरुमा जोश र उर्जा हुन्छ तथापि यतिले मात्र पुग्दैन । वैचारिक स्पष्टता, त्यस अनुसारको तालिम र सो अनुसारको प्रतिवद्धता जरुरी हुन्छ ।
आवश्यकतानुसारको पात्रता पनि आवश्यक छ । यसलाई उमेरले मात्र अनुवाद गर्नु गलती हुनेछ । फेरि कसैकसैले हस्तान्तरणको कुरा गर्छन् । हस्तान्तरण होइन, हस्तान्तरण त केही आफूसंग भएको चीज अर्थात् मलिकाना हक सुम्पिनु जस्तो हुन्छ । असफलबाट सफलताको बाटो देखाउने पत्यारिलो पात्रतिर स्वप्रवाह अर्थात् स्वतः हुने प्रक्रियाको प्रारम्भ जरुरी छ । यसको निमित्त च्यापेर बस्नुभएकाहरु बाटो दिएर सहज वातावरण बनाइदिनु पर्दछ । त्यो बाटो नयाँ र पत्यारिलो सोचको निमित्त हुनु पर्दछ ।
अवसरवादिता, स्वार्थ र भ्रष्टाचारको भाइरस सबै जेनरेसनमा रहेको तथ्य बिर्सनु हुन्न । देशको अहिलेको परिस्थितिले अनुभवहिनता, वैचारिक स्पष्टताको अभाव, राजनीतिक समझमा कमीले कसरी अनिश्चितता तथा शक्तिको दुरुपयोगतिर धकेल्छ हामी राम्ररी बुझ्दै गइरहेका छौं ।
धन्यवाद । महत्वपूर्ण विषयहरुमाथि प्रकाश पार्नु भयो । समयको निमित्त आभारी छौं ।
धन्यवाद ।

