काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबिन महतोले निर्धारित समयमै उपस्थित हुन नसक्दा नियमित शपथ ग्रहण समारोह छुटेपछि पछि छुट्टै रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालयका अनुसार महतोले सिंहदरबारस्थित ज्येष्ठ सदस्यको कार्यकक्षमा ज्येष्ठ सांसद अर्जुननरसिंह केसी समक्ष शपथ लिएका हुन् । उनले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गरे ।

स्रोतका अनुसार शपथ समारोहमा सहभागी हुन निस्कनुअघि महतोले लगाउने कपडा फिट नभएपछि त्यसलाई मिलाउने क्रममा ढिलाइ भएको थियो । त्यसपछि ट्याक्सीमार्फत सिंहदरबार पुग्दा निर्धारित समयको शपथ ग्रहण कार्यक्रम छुटेको बताइएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकेको थियो । कार्यक्रम केही ढिला सुरु भए पनि महतो त्यसमा सहभागी हुन सकेनन् ।

पछि सचिवालयले व्यवस्था मिलाएर ज्येष्ठ सदस्य केसीमार्फत उनलाई छुट्टै शपथ गराइएको हो ।

यसैबीच, संसद सचिवालयका अनुसार यसपटक सांसदहरूले करिब १८ विभिन्न भाषामा शपथ लिएका छन् । तीमध्ये संस्कृत भाषामा दुई जनाले शपथ लिएका छन् भने सबैभन्दा धेरै मैथिली, भोजपुरी र नेवारी भाषामा शपथ लिइएको जनाएको छ ।