वर्षाले प्रधानमन्त्री कप प्रभावित

जनकपुरधाम, ७ चैत । मधेश प्रदेशका जनकपुरधाम र पर्साको वीरगञ्जमा शनिबारदेखि सुरु हुने भनिएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित बनेको छ ।
उद्घाटन दिनमै तय गरिएका दुवै खेल रद्द भएपछि प्रतियोगिताको शुरुवात निराशाजनक बनेको हो ।
शनिबार जनकपुरधाममा मधेश प्रदेश र कोशी प्रदेशबीच हुने उद्घाटन खेल वर्षाका कारण सुरु हुनै पाएन । यस्तै, वीरगञ्जमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच सुरु भएको खेल पनि वर्षा भएपछि बीचमै रद्द गर्नुपरेको आयोजक नेपाल क्रिकेट सङ्घले जनाएको छ ।
दुवै खेल रद्द भएसँगै सहभागी चारवटै टोलीले एक–एक अंक बाँडेका छन् । वर्षाका कारण मैदान खेलयोग्य नभएपछि खेल सञ्चालन असम्भव बनेको थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार भने जनकपुरधाम र वीरगञ्जमा कुनै खेल नरहेको तालिका छ । यस पटकको प्रतियोगितामा सात प्रदेशका टोलीसँगै तीन विभागीय टोली गरी कुल १० टोली सहभागी छन् ।
प्रतियोगिता मधेश प्रदेशका जनकपुरधाम, वीरगञ्ज र काठमाडौँमा सञ्चालन भइरहेको छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल पर्साको वीरगञ्जमा आयोजना हुने कार्यक्रम रहेको छ ।
यसैबीच, जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री बसन्त कुशवाहाले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक निर्माण कार्यका लागि करिब २ अर्ब ७५ करोड रुपैयाँ आवश्यक पर्नेछ ।
मन्त्री कुशवाहाले भारत सरकारबाट १ अर्ब ६० करोड रुपैयाँ सहयोग आउने अपेक्षा गरिएको र बाँकी रकम संघ, प्रदेश तथा स्थानीय तहको सहकार्यमा जुटाइने बताए ।
स्रोत सुनिश्चित भएपछि निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ थियोे ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


