काठमाडौं बाहिर १ लिटर पानीको बोतल २० रुपैयाँ, २० लिटरको जार ६० रुपैयाँ

जनकपुरधाम, २ चैत । प्लास्टिकको बोतल तथा जारमा बिक्री हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गत उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यका भित्र र बाहिर प्रशोधित पानीको फरक फरक अधिकतम खुद्रा मूल्य तोकिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार काठमाडौं उपत्यका भित्र १ लिटरको बोतलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ भने २० लिटरको जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिर १ लिटरको बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ६० रुपैयाँ तोकिएको विभागले जनाएको छ ।
विभागले तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्रशोधित पानी बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित विक्रेतालाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।
साथै विभागले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न आग्रह गरेको छ । यदि कतै बढी रकम लिन खोजिएको पाइएमा विभाग, मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा जानकारी गराई उपभोक्ता अधिकार संरक्षणमा सहयोग गर्न विभागले आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंले सार्वजनिक गरेको सूचनामा बजारमा कृत्रिम मूल्य वृद्धि रोक्न र उपभोक्ताको हित संरक्षण गर्न यस्तो व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


