-श्यामकुमार ठाकुर
सिरहा, ३० फागुन ।
सिरहाको मिर्चैया नगरपालिका–६ स्थित स्वस्तिक पाठशालामा विद्यार्थीहरूलाई नेपाली साहित्यप्रति आकर्षित गर्ने उद्देश्यले ‘सिर्जना संवाद’ नामक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यिक विधामा सक्रिय सर्जकहरूले आफ्ना अनुभव र सिर्जनात्मक विचार विद्यार्थीहरूसँग साझा गरेका थिए ।

कार्यक्रममा उपस्थित साहित्यकारहरूले कविता, गजल, मुक्तक, व्यङ्ग्य, छन्द साहित्य तथा कला सिर्जनाका विविध पक्षबारे चर्चा गर्दै साहित्यले समाजमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए ।

यस क्रममा कवि जीवन आरोहीले गद्य कविताको प्रस्तुति दिएका थिए भने उद्वव अविचल र भीम राउतले गजल वाचन गरेका थिए । गणेश तिमिल्सिनाले मुक्तक सुनाएका थिए भने नारद प्रसाद काफ्लेले व्यङ्ग्यात्मक प्रस्तुति मार्फत सहभागीहरूलाई मनोरञ्जनसँगै सन्देश दिएका थिए ।

त्यसैगरी, कलाकार गोविन्द खड्काले चित्रकला तथा मूर्तिकलामा आफ्नो अनुभव साझा गर्दै कला र साहित्यबीचको सम्बन्धबारे चर्चा गरेका थिए । कवि अग्नि कवच र प्रेम घिमिरेले नेपाली कवितामा छन्दको महत्वबारे विचार व्यक्त गरेका थिए भने रामचन्द्र पौडेलले साहित्यिक सिर्जनाले समाजमा चेतना र परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रमणकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश ठाकुर र वडा नम्बर ६ का वडाध्यक्ष रामप्रकाश महासेठ विशेष अतिथिका रूपमा उपस्थित थिए ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थासँग आबद्ध सर्जकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दाहाल, बर्दिवास साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष यशोधा श्रेष्ठ, सिस्नुपानी महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्ले, कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष अग्नि कवच, प्रगतिशील लेखक सङ्घ महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल, सचिव भीम राउत, विश्व नेपाली साहित्य महासङ्घ महोत्तरी शाखाका अध्यक्ष उद्वव अविचल लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

कार्यक्रम कक्षा ९ की छात्रा कृति कविता नायक र कक्षा १० का छात्र दिवाकर चौधरीले सञ्चालन गरेका थिए ।

विद्यालयका अनुसार यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेपाली साहित्यका विविध विधाबारे जानकारी गराउनुका साथै सिर्जनात्मक सोच, भाषिक अभिव्यक्ति र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो ।