रौतहट, २९ फागुन । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभरका कारण बङ्गुर मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । एक साताको अवधिमा मात्रै विभिन्न स्थानमा गरी कम्तीमा १५ वटा बङ्गुर मरेको पशु चिकित्सकले बताएका छन् ।

चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका किसान हरि गुरोका १४ वटा बङ्गुर स्वाइन फिभरका कारण मरेको पशु चिकित्सक डा. सुलभ चौधरीले जानकारी दिए । बङ्गुर बिरामी परेपछि उपचारका लागि पशु चिकित्सकलाई खबर गरिएको भए पनि उपचार गर्दागर्दै मरेको किसान गुरोले गुनासो गरे ।

यसैबीच, चन्द्रनिगाहपुर–४ का शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगका कारण मरेको डा. चौधरीले बताए । उनका अनुसार स्वाइन फिभर रोग विशेषगरी संक्रमित बङ्गुर, त्यसका पाठापाठी, मासु वा संक्रमित पशुसँगको सम्पर्कबाट अन्य बङ्गुरमा सर्ने गर्दछ ।

रोग नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको भए पनि हाल खोप अभावका कारण तत्काल अभियान सञ्चालन गर्न कठिनाइ भएको चिकित्सक चौधरीले बताए ।

चन्द्रपुर क्षेत्रमा करिब ६ हजारको हाराहारीमा किसानले बङ्गुर पालन गर्दै आएका छन् । रोग फैलिन नदिन किसानलाई सावधानी अपनाउन तथा संक्रमित बङ्गुरलाई अन्य पशुसँग सम्पर्कमा नराख्न पशु चिकित्सकले आग्रह गरेका छन् ।