जनकपुरधाम–२२ मा व्यक्तिगत घटना दर्ता अनलाइन अनिवार्य, वडाले जारी गर्यो सूचना

जनकपुरधाम, २८ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ ले व्यक्तिगत घटना दर्तालाई अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत अद्यावधिक गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
वडा कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार जन्म, विवाह, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदलगायतका व्यक्तिगत घटना दर्ता अब अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्तमान समयमा विभिन्न सरकारी कार्यालयबाट अनलाइन विवरण माग भइरहेकाले सेवा सहज र व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गरिएको वडा कार्यालयले जनाएको छ ।
यसअनुसार वडा नं. २२ बसविट्टी क्षेत्रका नागरिकहरूले सम्बन्धित कागजातको सक्कल प्रतिसहित वडा कार्यालयमा उपस्थित भई दर्ता अनलाइन गराउनुपर्नेछ ।
वडा कार्यालयले आवश्यक कागजातको विवरण पनि सार्वजनिक गरेको छ । जन्मदर्ताका लागि बाबु आमाको नागरिकता, विवाहदर्ताका लागि श्रीमान श्रीमती, बाबु आमा तथा सासु ससुराको नागरिकता, मृत्युदर्ताका लागि मृतक र सूचकको नागरिकता आवश्यक पर्नेछ ।
त्यसैगरी, बसाइँसराइका लागि सूचकसहित परिवारका सदस्यको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र तथा सम्बन्ध विच्छेदका लागि पति पत्नीको नागरिकता र अदालतको फैसला अनिवार्य गरिएको छ ।
वडा अध्यक्ष विमलेश मिश्रले समयमै अनलाइन दर्ता नगर्दा सेवा लिन कठिनाइ हुने भएकाले सबै नागरिकलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन आग्रह गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

