जनकपुरधाम, ८ माघ । सरस्वती पूजालाई मर्यादित, शालीन र सांस्कृतिक ढंगले सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।

जिल्ला प्रशासनले एक सूचना जारी गर्दै सरस्वती पूजाका नाममा समाजमा विकृति फैलाउने गतिविधि नगर्न तथा नगराउन सबै सरोकारवालालाई सचेत गराएको हो ।

सूचनामा डिजे बजाएर अश्लील तथा भोजपुरी गीत बजाउने, मादक तथा नशालु पदार्थ सेवन गरी होहल्ला गर्ने, कसैको इच्छाविपरीत जबरजस्ती अबिर लगाउने, हैरानी गर्ने जस्ता अवाञ्छित क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।

प्रशासनका अनुसार यस्ता गतिविधिले धार्मिक तथा सांस्कृतिक पर्वको गरिमा घटाउने मात्र नभई सामाजिक सद्भावमा समेत असर पार्ने भएकाले नियन्त्रण आवश्यक रहेको छ । त्यसैले, विशुद्ध सांस्कृतिक कार्यक्रम बाहेक अन्य अमर्यादित गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचनाको उल्लंघन गरी कानून विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दहालद्वारा जारी सूचनामा सरस्वती पूजालाई सभ्य, शान्तिपूर्ण र संस्कृतिप्रति सम्मान झल्किने रूपमा मनाउन अभिभावक, विद्यालय, युवा समूह तथा आयोजकलाई विशेष जिम्मेवारी बहन गर्न अनुरोध गरिएको छ ।