जनकपुरधाम, १५ पुष । जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) का नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

कार्यक्रममा अध्यक्ष मण्डलका संयोजक रमेश रञ्जन झाले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराए । शपथ ग्रहणपछि निवर्तमान अध्यक्ष प्रमेश झाले नवनिर्वाचित अध्यक्ष सुनिल मल्लिकलाई माइन्युट रजिस्टर तथा कार्यालयको चाबी हस्तान्तरण गर्दै पद हस्तान्तरण गरे ।

अध्यक्ष पद सम्हाल्दै मल्लिकले मिथिला नाट्य कला परिषद्लाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कलाकारहरूमा जिम्मेवारीबोध गराउँदै संस्थाको सशक्त विकासमा केन्द्रित भएर काम गर्ने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।