मधेश प्रदेशले माग्यो अनुदान वृद्धि, एमबिबिएस कार्यक्रमको लागि सङ्घीय सहयोग

जनकपुरधाम, १० पुष । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित विभिन्न मन्त्री तथा नेताहरूसँग औपचारिक भेटघाट गरेका छन् ।
भेटघाटमा मधेश प्रदेश सरकारले सङ्घीय सरकारले प्रदान गर्ने अनुदान रकम वृद्धि, प्रदेश सरकारको राजश्व स्वायत्तता र स्वास्थ्य शिक्षामा आवश्यक आर्थिक सहयोगबारे माग राखेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादव र प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले अर्थमन्त्री खनालसँग प्रदेशलाई दिइने अनुदान रकम बढाउन आग्रह गरे । उनीहरूले प्रदेशको मानव विकास सूचकांक अन्य प्रदेशहरूभन्दा कमजोर भएको र त्यस आधारमा थप अनुदानको आवश्यकता रहेको उल्लेख गरे ।
अर्थमन्त्री यादवका अनुसार प्रदेश सरकारले हाल सञ्चालन गरिरहेको एमबिबिएस कार्यक्रमका लागि सङ्घ सरकारले आवश्यक आर्थिक अनुदान नदिएको विषयमा पनि खनालको ध्यानाकर्षण गराइएको छ । सो कार्यक्रममा वर्षेनी २० करोड रुपैयाँ प्रदेशको आन्तरिक स्रोतबाट खर्च भइरहेको छ ।

यसैगरी, प्रदेश सरकारले राजश्व कार्यालयहरूलाई यथावत् राख्नुपर्ने र प्रदेश सरकारलाई राजश्वका कतिपय क्षेत्रमा स्वायत्तता प्रदान गर्नुपर्ने माग पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
अर्थमन्त्री खनालले प्रदेश सरकारको मागप्रति सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रदेश सरकारले व्यक्त गरेको चिन्ताप्रति सङ्घीय सरकारले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । आवश्यक कदम चाल्ने प्रयास गरिनेछ ।’
बैठकमा मधेश प्रदेश सरकारका निमित्त प्रमुख सचिव रामकुमार महतो, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, नेता युवराज भट्टराई लगायतका नेताहरूको पनि उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

