जनकपुरधाम, १० पुष । ऐतिहासिक मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोका दाजु रामसोभित महतोलाई मधेश प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले विशेष सम्मान गरेका छन् ।

शहीदहरूप्रतिको योगदानको स्मरण र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम औपचारिक समारोहका बीच सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले मधेश आन्दोलनमा शहीद रमेश महतोले देखाएको साहस, त्याग र बलिदानले मधेशको पहिचान, अधिकार र सम्मानको संघर्षलाई ऐतिहासिक उचाइमा पुर्‍याएको बताए ।

उनले शहीद महतोको बलिदान केवल मधेशकै लागि नभई सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे । ‘शहीदहरूको त्यागका कारण आज मधेशले आफ्ना अधिकार र पहिचानका सवाललाई संस्थागत रूपमा अघि बढाउन पाएको छ,’ सभामुख यादवले भने ।

सभामुख यादवले शहीद परिवारप्रति राज्य सदैव ऋणी रहने उल्लेख गर्दै शहीदहरूको सपना पूरा गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे । उनले मधेश प्रदेश सभाले शहीद परिवारको सम्मान, संरक्षण र आवश्यक सहयोगका लागि आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सम्मान ग्रहणपछि प्रतिक्रिया व्यक्त गर्दै रामसोभित महतोले शहीद रमेश महतोले देखेको सपना अझै अधूरो रहेको बताए । उनले मधेशका जनप्रतिनिधिहरू इमान्दार, पारदर्शी र जनमुखी भएर काम गरेमा मात्र शहीदहरूको बलिदानको सही मूल्याङ्कन हुने धारणा राखे ।

‘शहीदहरूको स्मरण भाषण र कार्यक्रममै सीमित हुनु हुँदैन, उनीहरूले देखेको समानता, न्याय र सम्मानको सपना व्यवहारमा उतारिनुपर्छ,’ उनले भने ।