जनकपुरधाम, १० पुष । मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुल जनकपुरधाम–७ ले तुलसी दिवसको अवसरमा प्रत्येक वर्षझैं यस वर्ष पनि विशेष तुलसी पूजन कार्यक्रम आयोजना गरेको छ ।

धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका आयोजक विद्यालयका प्रधानाध्यापकसमेत रहेका एनप्याब्सन जनकपुरधामका अध्यक्ष दिपक ठाकुरले हिन्दू धर्ममा तुलसीको धार्मिक तथा आध्यात्मिक महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संस्कार, अनुशासन र नैतिक मूल्यप्रति सचेत बनाउने बताए ।

उनले धार्मिक र सांस्कृतिक पहिचान जोगाउन विद्यालयस्तरबाट गरिने यस्ता पहलहरू अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई यस्ता कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।

तुलसी पूजन कार्यक्रममा वैदिक मन्त्रोच्चारणका साथ विधिपूर्वक पूजन सम्पन्न गरिएको थियो ।

विद्यालय परिवारले यस अवसरलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सामाजिक सद्भाव, एकता र सहकार्यको सन्देश फैलाउने माध्यमका रूपमा विकास गरेको जनाएको छ ।

तुलसी दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा संस्कार, सभ्यता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने ठाकुरले विश्वास व्यक्त गरे ।

उनले आधुनिक शिक्षासँगै सांस्कृतिक र नैतिक शिक्षा पनि उत्तिकै आवश्यक रहेको भन्दै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

तुलसी पूजन कार्यक्रमले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

मोडर्न नेपाल इङ्लिस बोर्डिङ स्कुलले शिक्षा मात्र नभई संस्कार र संस्कृति संरक्षणमा समेत भूमिका निर्वाह गर्दै आएको भन्दै सहभागीहरूले विद्यालयको प्रयासलाई उदाहरणीय बताए ।