–ज्योति झा
जनकपुरधाम, ११ साउन ।
हाम्रो पर्व त्योहारमा सबभन्दा कठोर पर्वको रूपमा हामी छठ र जितियालाई बुझ्छौं । तर, मधुश्रावणी पर्व पनि कम छैन । सबभन्दा लामो पर्वको रूपमा यसलाई चिनिन्छ ।

यो पर्व सिमित जातजातिका मानिस मनाउँछन् । ब्राह्मण, कायस्थ, भुमिहार र देव जातिले मनाउने यो पर्व धुमधाम र हर्सोल्लासका साथ मनाइन्छ । प्रायः यो पर्वमा १४ पूजा र १५ टेमी हुन्छ । नवविवाहिताले यो पर्व माइती घरमै मनाउने चलन भए पनि पर्वको सारा सामग्री भने श्रीमानले पठाएका नै प्रयोग गर्ने परम्परा छन् ।

यसमा माटोको हाथी, सर्प, अहिबात पुरहर (माटोको भाँडो) हुन्छ भने पञ्चमीको दीन माटोकै ५ वटा थुम्बा बनाइन्छ । र, गाईको गोबरको सर्प आकृति हरेक ढोकाको दुबैतर्फ बनाइन्छ । त्यति मात्र नभई पानको पात, केराको पातमा पनि चावलको पिठो, गाजल, सिन्दुर, मेहदी र गोबरले सर्पको आकार बनाइन्छ । यसमा थोरै फूलले पुग्दैन धेरै फूल चाहिन्छ । बासी फूल, पात छारने गरिन्छ भने ताजा फूलले पुजा गर्नुको साथै छारिन्छ पनि ।

यो पर्वमा नवविवाहिता दुलहि जस्तै श्रृंगार गर्छिन् र बिहान बेलुका साथी सहेलीसँग रमाइलो ठट्टा गर्दै गितगाउँदै ब्रतालु महिलाहरु छरछिमेक, मठमन्दिर र फूलबारीबाट टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा आराधना गर्ने परम्परा छ ।

हाम्रो पूर्वजहरूको भनाइ अनुसार सृष्टि आरम्भदेखि नै मिथिलामा यो पर्व मनाइँदै आइएको छ । र, यो पर्व मिथिलाका नवविवाहिताका लागी धेरै महत्त्वपूर्ण मानिन्छ । यसमा सधैं बेग्लै बेग्लै कथा सुनाइन्छ । यसले गृहस्थ आश्रममा आउने बाधा अड्चनबाट कसरी बच्ने र कसरी आफ्ना दाम्पत्य जीवनलाई सुखीपूर्वक निर्वाह गर्ने भन्नेबारे सिकाइन्छ । यो पर्वमा पूजा अवधिसम्म नुन मिसाइएको कुनै परिकार खानु हुँदैन । कतिले खान्छ भने पनि सिन्धा नुनको प्रयोग गर्छन् ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षित र नागलाई नारीको पतिका रूपमा वंशलाई बढाउने प्रवृतिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग नागिनको विशेष पुजा आराधना गर्ने गरेको पाइन्छ । यो पर्वमा व्रतालुले विनी अनिवार्य रुपमा सुन्नैपर्ने हुन्छ । र, यसमा मौना पञ्चमी कथा, विहुलाओ मनसाक कथा, पृथ्वीको जन्म, समुद्र मन्थन, सतीको कथा, पतिव्रताको कथा, महादेव परिवारको कथा, गंगाको कथा, गौरीको जन्म, कार्तिक जन्म, गणेश जन्म, बाल वसन्त जस्ता धेरै कथाहरू सुन्न पाइन्छ ।

अहिले त केटाकेटीको बढी उमेरमा विवाह हुन थाल्यो । तर, पहिला कलिलो उमेरमा हुन्थ्यो । जहां केटाकेटी विवाह भनेको के हो, कसरी कर्तव्य निर्वाह गर्नुपर्छ, के के गर्नुपर्छ भन्ने कुरा देखि अज्ञान हुन्थ्यो । पहिला त कन्यादान गर्दा कन्या दुलहीको उमेर प्राय किशोर रहने एवम् त्यस उमेरकी बालिका पारिवारिक र सामाजिक विधि व्यवस्थाका विषयमा जानकार नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाको माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरूबारे ज्ञान प्रदान गरिनु अत्यन्त महत्त्वपूर्ण मानिन्थ्यो । महिला वर्गको मात्र सहभागिता रहने भएकाले नवयौवना बालबालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरिन्थ्यो । जसले उ मानसिक र शारिरिक रुपले समेत गृहस्थ जिवनयापनका लागि तयार हुन सकोस् ।

पर्वको अन्तिम विधि टेमि विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । तर, त्यही बेहुली गर्भवती छन भने सितल टेमि दिइने चलन छ । तर, अहिले नव परिवेश, नव युगमा केहि नयाँ विचारधाराको लागि यो विधि अव्यहारिक, अन्धविश्वासी, रुढीवादी परम्परा हो रे ! जबकि यो धार्मिक सांस्कृतिक मान्यताको प्रतिक हो । यो विधि गर्नु डाम्नुको आफ्नै अर्थ छ । यो विधि गर्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खेप्ने हुनुपर्छ भन्ने अर्थमा अर्थयाइएको पाइन्छ । कतिले त यसलाई महिला हिंसाको तथाकथित नाम पनि दिएका छन् ।

प्रकृतिले पनि महिलालाई गर्भधारण गर्ने अधिकार दिएको छ । पुरुष बच्चा जन्माउन सक्दैनन् तर, महिलाले जन्म र स्तनपान दुइटै गर्न सक्ने क्षमता राख्छिन् । र, जब एउटी महिला बच्चालाई जन्म दिन्छन् भने ७ तहबाट बच्चा बाहिर आउँछ । चाहे त्यो प्राकृतिक होस् वा कृतिम तरिकाले होस दर्द त्यतिकै हुन्छ । स्तनपान गराउँदा पनि बच्चाको दुधे दाँत आउँदा महिलालाई दर्द हुन्छ ।

खाना पकाउँदा पनि सिखारू होस् वा दक्ष जिवनमा एकपटक नै किन नहोस् तर पोल्छ नै । मेरो त प्रायः पोल्छ । हाम्रो पुर्खादेखि चलिआएको परम्परालाइ रुढीवादी भन्न एक सेकेण्ड पनि समय लगाउँदैनन् । जबकि यसमा अलिकति पोल्छ । हामी दिनहुँ यो भन्दा ठूलो पीडा भोग्छौं । चाहे त्यो शारीरिक होस् वा मानसिक । तर, अबका नवआगन्तुक पिढीहरुले परम्पराको नाम दिएर मनपरी परम्परा निर्माण गरिरहेका छन् । नत पश्चिमी सभ्यताका हुन्छन् नत हाम्रो मिथिला संस्कारकै पालना गरिरहेका छन् ।

मधुश्रावणी टेमी हाम्रो बाबा पूर्खा देखी नै चलिआएको सांस्कृतिक परम्पराको प्रतिक हो । जसलाई हामी नवपिढीले बचाउनु छ । हामी मिथिलाञ्चलबासी संस्कृति परम्पराले चिनाउँछौ ।

रहयो कुरा यसलाई हिंसाको उपमा दिनेहरू यसमा म के भन्न चाहन्छु भने मधुश्रावणी अवधिभर नवविवाहिताले न चुल्हो बाल्छन, न त जुठो न कुचो छुन्छन् । केही काम गर्नै पर्दैन । आफूले खाने खाना पनि अरूले ल्याइदिन्छ । बरू रानी महरानी जस्तो महसुस हुन्छ । राम्रो राम्रो परिकार खास व्रत बस्नेकै लागि बनाइन्छ ।

हुनत मधुश्रावणीलाई हनिमुन महिना पनि भनिन्छ । श्रीमान श्रीमती बीचको सुमधुर सम्बन्धले यसलाई अझ प्रगाढ बनाउँछ । टेमी–नारी गुण, सहनशीलता र समर्पणको प्रतिक हो । हाम्रो मिथिला परम्पराक लोक संस्कृति आस्थासँग जुडेको विधि हो । भनिन्छ जोसँग माया हुन्छ त्यहाँ त मानिसले केही पनि गर्न सक्छन् । टेमी त सानो कुरा हो ।

महिलाले त एउटा नव जिवलाई जन्म दिने क्षमता राख्छिन् । टेमी दाग्ने परम्पराको धार्मिक महत्व पनि छ । मधुश्रावणी पर्व नाग पञ्चमीको दिन सुरु हुन्छ । यसमा भगवान शिव, माता पार्वती र नागको पूजा गरिन्छ । टेमीलाई नागको प्रतीक मानिन्छ । ‘नवविवाहित महिलाको खुट्टा र घुँडामा जलिरहेको टेमीले चिन्ह बनाउने परम्परा छ ।

यो चिन्हले दाम्पत्य जीवनमा कुनै बाधा नआओस् भन्ने जनाउँछ । यसरी नाग देवतालाई सम्झेर नवविवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्छन् । मानिन्छ कि जसको शरीरमा यो चिन्ह बनाइन्छ, उनलाई कहिल्यै सर्पदंशबाट अकाल मृत्यु हुँदैन ।’