रौतहट, १० बैशाख । पछिल्ला दिनहरूमा बढ्दो गर्मी र तातो हावाको प्रभावले तराईको जनजीवन कष्टकर बनेको छ ।

बिहानैदेखि चल्ने तातो हावा र दिउँसो तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्दा सर्वसाधारण घरबाहिर निस्कनै कठिन भइरहेको छ ।

अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था छैन । जनकपुरधाममा बिहीबार दिउँसो करिब १ बजे ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

अत्यधिक गर्मीका कारण कृषि क्षेत्रमासमेत नकारात्मक असर देखिएको छ । हिउँदे बाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

यस्तै, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूका लागि पनि काम गर्न असहज अवस्था सिर्जना भएको छ ।

यसैबीच, तातो हावाका कारण स्वास्थ्य समस्यासमेत बढ्न थालेका छन् ।

रौतहटको गढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मेन्द्र सहनीका अनुसार शरीरमा पानीको मात्रा घट्ने, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्थामा आउने क्रम बढेको छ ।

चिकित्सकहरूले यस्तो अवस्थामा प्रशस्त मात्रामा पानी पिउन, घाममा अनावश्यक बाहिर ननिस्कन र स्वास्थ्यमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।