मकवानपुर, २० असार । हेटौंडामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ ।

राक्सिराङ गाउँपालिका–५ स्थित कालिका माविका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको दुर्घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ४५ वर्षीय झा विगत १५ वर्षदेखि राक्सिराङमा शिक्षण पेशामा संलग्न थिए । बिहीबार राति करिब ११ बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा ना. ४३ प ४५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार राप्ती रोडमा सडक मर्मतका लागि खनिएको ह्युमपाइप जडानको खाल्डोमा मोटरसाइकल खस्दा दुर्घटना भएको हो । झा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा उक्त दुर्घटनामा परेका थिए ।

झाको असामयिक निधनले राक्सिराङ क्षेत्र शोकमा डुबेको छ । एक अनुभवी, जिम्मेवार र समर्पित शिक्षकको निधनले विद्यार्थी, अभिभावक र सहकर्मीहरू मर्माहत बनेका छन् ।

स्थानीय बासिन्दाहरूले चेतावनी वा सूचना बोर्डबिना सवारीसाधनका लागि जोखिमपूर्ण ढंगमा सडक खन्दा यस्ता दुःखद घटना हुने गरेको भन्दै निर्माण व्यवसायी र जिम्मेवार निकायप्रति आक्रोश व्यक्त गरेका छन् ।

यसैबीच, झाको निधनप्रति श्रद्धाञ्जलि स्वरूप राक्सिराङ गाउँपालिकाले शुक्रबार एक दिनका लागि सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा दिएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्वारा जारी सूचनामा उक्त निर्णय अध्यक्षस्तरबाट गरिएको उल्लेख गरिएको थियो ।