जगदम्बा स्टिल्सको भट्टीमा राति विस्फोट

बारा, १८ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति अचानक विस्फोट भएको छ ।
स्थानीय समय अनुसार राति करिब ९ः३० बजे फलाम पगाल्ने भट्टीमा ठूलो आवाजसहित विस्फोट भएको थियो । विस्फोटको आवाजले आसपासको क्षेत्र जमिनसमेत थर्किएको स्थानीयवासीहरूले बताएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले घटनाको पुष्टि गर्दै भने, ‘उद्योगको भट्टी विस्फोट भएको हो । तर, क्षतिको विवरण आउन बाँकी छ ।’
विस्फोटको कारण र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण नआइसकेको भन्दै अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि उद्योग परिसरमा त्रास फैलिएको र सुरक्षाकर्मीहरू खटाइएको छ । स्थानीयवासीहरूले नियमित निगरानी नहुँदा यस्ता जोखिम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।