जनकपुरधाममा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग शिविर सम्पन्न

जनकपुरधाम, ७ असार । जनकपुरधामको तिरहुतिया गाछीमा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग शिविर सम्पन्न भएको छ ।
उक्त योग शिविर जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भएको थियो । शिविरमा स्वास्थ्य शाखा र आयुर्वेद शाखाका प्रमुख एवम् प्रसिद्ध योग गुरु मनोहर साहले सहभागिहरुलाई योगाभ्यास गराएका थिए ।
शिविरमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साह, उपमहानगरका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरू र स्थानिय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

नगरप्रमुख साहले योगाभ्यासका माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यमा परेको सकारात्मक प्रभावको बारेमा चर्चा गर्दै योगको महत्वलाई जोड दिए । उनले योगलाई सबै वर्गका मानिससम्म पुग्नेगरी जनस्तरसम्म प्रचार गर्नुको आवश्यकता औंल्याए ।
‘योगले शारीरिक मात्र नभइ मानसिक सन्तुलन पनि कायम राख्न मद्दत पुर्याउँछ । यसको अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,’ नगर प्रमुख साहले भने ।

जनसमुदायमा योगको महत्व र लाभको बारेमा जनचेतना फैलाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए । कार्यक्रमका क्रममा योग गुरु मनोहर साहले विभिन्न योग आसनहरूको अभ्यास गराउँदै सहभागिहरुलाई स्वास्थ्य लाभका बारेमा जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


