जनकपुरधाम, २६ जेठ । नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद कनिस पटेलले मधेश प्रदेश सरकारले ल्याएको ’हेल्लो सिएम’ कार्यक्रममाथि संसद्मै प्रश्न उठाएका छन् ।

सोमबार प्रदेशसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद पटेलले सरकार सांसदकै आवाज नसुन्ने हो भने जनताको गुनासो कसरी सुन्छ भन्ने जिज्ञासा राखे ।

‘हामी सांसदहरूले बारम्बार संसद्मा जनताको समस्या उठाउँछौं, तर सरकार सुन्दैन,’ पटेलले भने, ‘सांसदहरूको मागमा सरकारको कुनै गम्भीरता छैन भने ’हेल्लो सिएम’ कार्यक्रममा जनताको कुरा कसरी सम्बोधन हुन्छ?’ उनले सरकारको नीति तथा कार्यक्रम ’नारामूलक र शोभा बढाउने खालको’ मात्र भएको भन्दै आलोचना पनि गरे ।

सरकारले ‘हेल्लो सिएम’ कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने नीति अघि सारेको छ । कार्यक्रमअन्तर्गत टेलिफोन, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत जनगुनासो टिपोट, ट्र्याकिङ र समाधान प्रक्रिया अनलाइन ड्यासबोर्डमार्फत सञ्चालन गरिने घोषणा गरिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले यस कार्यक्रमलाई समावेशी, पारदर्शी र दिगो शासनको आधारस्तम्भ बनाउने दाबी गरेका छन् । तर, सांसद पटेल भने सरकारले सांसदहरूको कुरा बेवास्ता गर्ने, फोन नउठाउने व्यवहारमै सीमित रहेकाले जनताको समस्या समाधानमा पनि शंका रहेको बताए ।

उनले भने, ‘मन्त्रीहरू आफूखुसी योजना बनाउने, १२ निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने प्रवृत्तिले सुशासनको आशा गर्न सकिन्न ।’ उनले नीति तथा कार्यक्रममा समावेश अधिकांश योजना मन्त्रीमुखी रहेको आरोप पनि लगाए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । विपक्षी सांसदहरूले यसरी आलोचना गर्दै कार्यक्रमलाई व्यवहारमा उतार्न ठोस कार्ययोजना र कार्यान्वयनको ग्यारेन्टी आवश्यक रहेको बताएका छन् ।