काठमाडौं, २५ माघ । नेपालमा सामाजिक समावेशिता र राजनीतिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले संघीय समाजवादी नेपाल पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन् ।
यस मोर्चाले दलित, बहुजन, मधेसी, मुस्लिम, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक र सामाजिक अधिकारका लागि संघर्ष गर्ने उद्देश्य राखेको छ ।
संविधान संशोधनका नाममा बहुजन समुदायका अधिकारमा कुण्ठन ल्याउने प्रयासलाई रोक्नु र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन खोज्ने कार्यहरूको विरोध गर्नु मोर्चा गठनको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष रिजवान अन्सारी र बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दनकुमार रञ्जनले आफ्नो पार्टीका गतिविधिहरूमा सँगै सहकार्य गर्दै मोर्चा बनाउने निर्णय गरे । अन्सारीले भने, ‘विगतमा मधेस केन्द्रित दलहरूले सत्ताको खेलमा लागेर मुद्दा विसर्जन गरेका थिए । तर, अब हामी मोर्चा बनाएर सत्ताको खेलको बिरोध गर्दै सीमान्तकृत समुदायका अधिकारका लागि संघर्ष गर्नेछौं ।’
संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष अन्सारीका अनुसार वर्तमान सरकारको नीति समानुपातिक प्रतिनिधित्वलाई खारेज गर्ने, दुई दलीय व्यवस्था लागू गर्ने र थ्रेसहोल्ड बढाएर सीमान्तकृत समुदायहरूको राजनीतिक सहभागितालाई सीमित गर्ने रहेको छ । यसले संविधानको मूल उद्देश्यलाई संकटमा पार्ने र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने सम्भावना छ । यस्तो अवस्थामा उनले यस्तो कुनै पनि प्रयासलाई सहेर नबस्ने र मोर्चा बनाएर प्रतिकार गर्ने बताएका छन् ।
बहुजन एकता पार्टी नेपालका अध्यक्ष रञ्जनले संविधान संशोधनको नाममा बहुजन समुदायको हक कुण्ठित गर्नको प्रयास भइरहेको बताएका छन् । यसले बहुजन समुदायका अधिकारमा गम्भीर असर पर्ने भन्दै उनीहरूले मोर्चा गठन गरेर संगठित रुपमा प्रतिकार गर्ने निर्णय गरेका छन् ।
यस मोर्चाले देशभरि जनजागरण अभियान सञ्चालन गर्ने, राजनीतिक र कानुनी प्रतिरोध अघि बढाउने र अन्य समावेशी शक्तिहरूसँग सहकार्य गर्ने रणनीति बनाउने योजना राखेको छ ।