जनकपुरधाम, २४ माघ । छैटौं जनकपुर साहित्य महोत्सवको उद्घाटन सत्रमा नेपालका प्रख्यात राजनीतिक विश्लेषक सीके लालले ‘सियाराम राज्यको परिकल्पना : साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन् ।
सीके लालले आफ्नो भाषणको शुरुवातमा ‘सियाराम राज्य’ को परिकल्पना केलाउँदै भने, ‘सियाराम राज्य भनेको केवल धार्मिक परिकल्पना मात्र नभई सामाजिक समानता र राजनीतिक समावेशिताको एउटा प्रतिक हो । राम र सीताको साझा सत्ता र सहकार्य, सियाराम राज्यको मुल भाव हो । यसमा समावेशी शासन व्यवस्थाको परिकल्पना गरिन्छ ।’
उनले भने, ‘नेपाली समाजमा असमानता र विभाजनको गहिरो असर देखिन्छ । साहित्यले यी विभाजनहरूलाई उजागर गर्न र राजनीतिक परिवर्तनका लागि आवाज उठाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो साहित्यले समाजको वास्तविकतासँग जोडिनु पर्छ ।’
उनले वर्तमान राजनीतिमा निहित अन्याय, आर्थिक असमानता र विभेदहरूको विरोध गर्दै भने, ‘राजनीतिक शक्तिहरूको असन्तुलन र आर्थिक शोषणलाई साहित्यको माध्यमबाट उजागर गर्न सकिन्छ । तर त्यसका लागि साहित्यको उद्देश्य केवल सौन्दर्यात्मक नभई सामाजिक न्याय र समतामूलक सिद्धान्तमा आधारित हुनुपर्छ ।’
उनले राजनीतिक विचारधारालाई साहित्यिक अभिव्यक्तिहरूको माध्यमबाट परिवर्तनकारी शक्तिमा रूपान्तरण गर्न सकिने बताए ।
उनले भने, ‘असमानता र विभाजनको जरा नेपाली समाजमा गहिरो छ । यसलाई परिवर्तन गर्न हामीले साहित्य र राजनीति दुवैलाई सशक्त बनाउनुपर्छ । साहित्य कुनै केवल सौन्दर्यात्मक अनुभवको साधन होइन, यो समाज परिवर्तनको शक्तिशाली हतियार हो ।’
लालले ‘सियाराम राज्य’ को परिकल्पनालाई साहित्यिक र ऐतिहासिक पृष्ठभूमिमा जोड्दै भने, ‘सियाराम राज्य भनेको सह–अस्तित्वको नमूना हो । जहाँ राम र सीताको प्रतीकात्मक सम्बन्धले सन्तुलन, न्याय र समानताको परिकल्पना गर्दछ । यो कुनै केवल धार्मिक मान्यता मात्र नभई सामाजिक संरचनामा समानताको आदर्श राज्यको परिकल्पना हो । अहिलेको विश्वमा जबरजस्ती थोपिएका सत्ता र केन्द्रित अर्थनीतिका कारण समाजमा विभाजन र असन्तुलन बढ्दै गएको छ । सियाराम राज्य भनेको यस्ता विभाजनको अन्त्य र नयाँ युगको शुरूवात हो ।’
उनले राजनीतिक र आर्थिक सत्ताको समीकरणलाई पनि जोड्दै भने, ‘हाम्रो समाजमा सत्ताका खेलाडीहरूले साहित्यलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेका छन् । तर, सियाराम राज्यको परिकल्पनामा साहित्यले जनतामाझ सामाजिक न्याय, समानता र सान्त्वनाको संदेश दिनुपर्छ ।’
महोत्सवको यो महत्वपूर्ण सत्रले स्थानीय साहित्यकार, राजनीतिक विश्लेषक र युवा विद्यार्थीहरूको ठूलो ध्यान आकर्षित गर्याे । लालको प्रस्तुतिकरणले अहिलेको नेपाली राजनीतिक परिदृश्य, सामाजिक असमानता र धार्मिक–राजनीतिक सन्दर्भमा नयाँ दृष्टिकोण प्रदान गरेको छ ।
तीन दिनसम्म चल्ने जनकपुर साहित्य महोत्सवमा विभिन्न विद्वान्, लेखक, तथा विश्लेषकहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन् ।