जनकपुरधाम, २२ माघ । अहिले समाजमा भडकीलो सरस्वती पूजा प्रचलनमा आएको देखिन्छ । यो नव परम्परागत हिन्दू पूजा भन्दा धेरै फरक छ । यसमा पूजाको विधि र त्यसको धरोहरको सम्मान भन्दा बढी यसलाई एक उत्सवको रूपमा मनाउने प्रवृत्ति बढिरहेको पाइएको छ । विशेष गरी शहरी क्षेत्रहरूमा सरस्वती पूजा एक प्रकारको सांस्कृतिक र व्यवसायिक घटनामा परिणत भएको देखिन्छ ।
सरस्वती पूजा केही ठूला विद्यालय, कलेज र कोचिंग संस्थाहरूमा एक व्यापारिक कार्यक्रमको रूपमा देखिन्छ । प्रायः यस समयमा विभिन्न उपहार र विशेष प्रक्षेपणहरूको बिक्री गर्नका लागि पूजाको वातावरण सृजना गरिन्छ । पूजा विधिहरूको स्थानमा विशेष साँझको कार्यक्रम, डान्स र पार्टीहरूको आयोजना गरिन्छ । यसले पारम्परिक पूजालाई आधुनिक र आकर्षक उत्सवमा रूपान्तरण गरेको छ ।
मूर्ति बिर्सजनका बेला धमाकेदार संगीत, डीजे र माइकहरूको प्रयोगले ध्वनि प्रदूषणको समस्या उत्पन्न गरेको हामीले सहजै देखेका छौं ।पूजा विधिमा सामान्यतः विद्या र ज्ञानको देवी सरस्वतीको पूजा गर्ने उद्देश्य हुन्छ । तर, यसको सांस्कृतिक र मनोरञ्जनात्मक स्वरूपले यस उद्देश्यलाई केही हदसम्म हानि पुर्याउन सक्छ । यसले हाम्रो धार्मिक र आध्यात्मिक पक्षलाई पक्कै कमजोर बनाउँछ ।
समाजमा भडकीलो सरस्वती पूजाले सांस्कृतिक र धार्मिक परम्पराहरू आधुनिक परिवेशसँग समायोजन गर्नका लागि परिर्वतन गरिरहेको देख्न सकिन्छ ।
यी सबै विकृतिहरुका बिच मंगलबार जनकपुरधाममा योभन्दा पृथक दृष्य देखिएको छ । मूर्ति बिर्सजनका लागि विभिन्न पोखरीहरुमा गइरहेको विद्यार्थीहरुको टोलीमा जनकपुरधामको सडकमा अलि बेग्लै दृष्य देखिएको थियो ।
जनकपुरधाम–४ विद्यापति चोकस्थित नेशनल कम्प्यूटर ट्रेनिङ्ग सेन्टरका शिक्षक र विद्यार्थीहरु सरस्वती माताको प्रतिमा बिर्सजन गर्न गइरहँदा भक्तिमय वातावरण देखिएको थियो । उनीहरु भक्तिमय भजन किर्तन गर्दै घडीघण्टा सहित सडकमा देखिएका थिए ।
यो दृष्य देखेपछि हामीले सो ट्रेनिङ्ग सेन्टरका सञ्चालक अजय साहसँग सोध्यौं तपाईंको टोली त पृथक देखियो नि । जवाफमा उनले भने, ‘सरस्वती पूजा हिन्दू धर्मको एक महत्वपूर्ण परम्परा हो । यसमा विद्या, कला, विज्ञान र संगीतको देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्व विशेष गरी विद्यार्थी र शिक्षाशास्त्रसँग सम्बन्धित व्यक्तिहरूको लागि अत्यन्त महत्वको हुन्छ । परम्परागत रूपमा यस दिनमा विद्या र ज्ञानको सम्मान गर्दै पुस्तकहरू, लेखन सामग्री र अन्य शैक्षिक सामग्रीहरूको पूजा गरिन्छ । जहाँ अहिले हाम्रो समाजमा भडकीलो सरस्वती पूजालाई प्रोत्साहन प्रदान भइरहेको छ त्यहिँ हामीले आफ्नो परम्परालाई यथावत राख्दै यस्तो शुरुवात पुनः गर्न खोजेका छौं । माताको प्रतिमा बिर्सजनका बेला हामी भावुक बनेका छौं ।’
सरस्वती पूजा एक अवसर हो जहाँ विद्यार्थीहरू आफूसँगका पुस्तकहरू र लेखन सामग्रीहरूको महत्त्वलाई महसुस गर्न सक्छन् र शैक्षिक यात्रा सँगसँगै आत्मसमीक्षा पनि गर्न सक्छन् । यस पर्वले न केवल शिक्षालाई बढावा दिन्छ, अपितु कला, संगीत र सांस्कृतिक मूल्यहरूको महत्त्वलाई पनि बल पुर्याउँछ ।
सरस्वतीको मूर्तिमा श्वेत वस्त्र धारण, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषण सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला एवम् चौथो हात अभ मुद्रामा हुन्छ । उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।
सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वाहन हुन् । मयुरलाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो । र, विद्या ज्ञानले शान्ति, स्थिरता, सहज र सरल बनाउँछ । हाम्रो जीवन सुन्दर सुल्झेको हुन्छ । साधारणतया ज्ञान दुई किसिमले प्राप्त हुन्छ गुरुमार्फत वा आफ्नै अनुभवबाट । जुनसुकै तरीकाबाट प्राप्त गरेपनि ज्ञान हासिल गर्नु जरुरी छ ।
https://www.facebook.com/share/p/12GbjGTWS8Q/