जनकपुरधाम, ३ जेठ । सन् २०२४ मैथिली सिनेमाका लागि सुरुदेखि नै सफलताको शिखरमा पुग्ने प्रयास गर्न लागेको छ । विगत ५० वर्षको इतिहासमा धेरै कम मैथिली चलचित्रहरू लोकप्रिय हुन सफल भएका छन् । चर्चित चलचित्र ‘मिलन’को प्रदर्शन गत महिना भारतका विभिन्न सिनेमाहलहरुमा सुरु भई प्रत्येक सिनेमा हलमा हप्ता दिनसम्म चलेको थियो । फिल्मका स्टार अभिनेता सञ्जीव पुनम मिश्रा र निर्माण संयोजक सन्तोष कुमार झा लगायतका कलाकारहरु प्रमोशनमा व्यस्त देखिएका छन् । सामाजिक सञ्जालमा मैथिली फिल्म ‘मिलन’लाई लिएर सार्वजनिक प्रतिक्रिया पनि आइरहेका छन् ।
पारिवारिक फिल्मका रुपमा ‘मिलन’ राम्रो सफल भएको विश्लेषकहरुले बताएका छन् । सन्तोष कुमार झाले चलचित्र ‘मिलन’ सीता नवमीबाट नेपालका विभिन्न शहरमा रिलिज हुने बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए । भारतमा बनेको चलचित्रले सेन्सर प्रक्रियामा गएपछि मात्रै नेपालमा प्रदर्शनको अधिकार पाउँछ । भारतमा रिलिज भएपछि ‘मिलन’को सेन्सरशिप प्रक्रिया चलाइएकोले नेपाली सिनेमा हलमा केही ढिलो रिलिज हुन लागेको हो ।
अभिनेता सञ्जीव पुनम मिश्राले चलचित्रले नेपालमा बसोबास गर्ने विशाल मैथिली दर्शकको आशीर्वाद लिनुपर्ने बताए । जीवनमा धेरै चलचित्रमा अभिनय गर्नु परेपनि मिलनमा केही फरक र विशेष काम गरेको उनले बताए । उनले भने, ‘कडा परिश्रम तब मात्र सफल मानिन्छ जब त्यसलाई दर्शकले माया गर्छ ।’ सञ्जीवले सबै दर्शकसँग आशीर्वाद मागेका छन् । उनले दर्शकको सुझावले मैथिली चलचित्रको भविष्य राम्रो हुने दाबी गरेका छन् ।
आरएसजे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता श्याम सुन्दर झा र रामसुन्दर झा हुन् भने निर्देशन शशि पाठकले गरेका छन् ।
चलचित्र ‘मिलन’ शुक्रबारदेखि जनकपुरधाम, विराटनगर, राजविराज र लहानमा प्रदर्शन हुँदैछ ।
१. आशा चलचित्र मन्दिर, जनकपुरधाम
२. गिरिजा चलचित्र मन्दिर, जनकपुरधाम
३. शिवशंकर सिनेमा, राजविराज
४.अरुण सिनेमा, विराटनगर
५. हिमालय सिनेमा, विराटनगर
६.पशुपति सिनेमा, लहान