—ज्योति झा
जनकपुरधाम, ०३ भदौ । हिन्दू धर्ममा हरेक महिनाको आफ्नो बेग्लै र खास विशेषता छ । कला संस्कृतिमा हामी मिथिलाञ्चलबासी असाध्यै धनि र भाग्यशाली छौं । मिथिलाञ्चलमा हरेक महिनामा कुनै न कुनै पर्व हुन्छ र हामी खुशी, हर्षोल्लाषपूर्वक मनाउँछौं पनि । पर्व त्योहारमध्ये सबभन्दा कठोर पर्वको रूपमा हामी छठ र जितियालाई बुझ्छौं । तर मधुश्रावणी पर्व पनि कम छैन । सबभन्दा लामो पर्वको रूपमा यसलाई चिनिन्छ । हुनत यो पर्व सिमित जातजातिका मानिसहरू मनाउँछन् । यो पर्व खासगरी ब्राह्मण, कायस्थ, भूमिहार जातिले मनाउने पर्व हो । प्रायः यो पर्वमा १४ पूजा र १५ टेमी हुन्छ । तर, मलेमासका कारण यसपाली नवविवाहिताले साढे एक महिना यो व्रत पर्व मनाउनु पर्यो । मिथिलाञ्चलसहित तराइ मधेसका जिल्लामा नवविवाहिताले हर्सोल्लाषका साथ मनाएको यो पर्व शनिबार सम्पन्न भयो । यो पर्वमा पूजाका लागि आवश्यक पर्ने सामग्री देखी नवविवाहिताले लगाउने साडी, श्रृङ्गारका सामान र खाद्यान्न सामग्री सबै ससुरालीबाट आउँछ । नवविवाहिता बिहान बेलुका फुल टिप्न जान्छन् जसलाई स्थानिय भाषामा फूललोढी भनिन्छ । यसमा सधैं बेग्लाबेग्लै कथा सुनाइन्छ । यसले गृहस्थ आश्रममा आउने बाधा अड्चनबाट कसरी बच्ने र कसरी आफ्ना दाम्पत्य जीवनलाई सुखीपूर्वक निर्वाह गर्ने भन्नेबारे सिकाइन्छ । यो पर्वमा पूजा अवधिसम्म नुन मिसाइएको कुनै परिकार खानु हुँदैन । कतिले खान्छन् भने पनि सिन्धा नूनको प्रयोग गर्छन् ।

यो पूजामा गौरीको पूजा महत्वपूर्ण छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षित र नागलाई नारीको पतिका रूपमा वंशलाई बढाउने प्रवृतिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग नागिनको विशेष पूजा आराधना गर्ने गरेको पाइन्छ । यो पर्वमा व्रतालुले विनी अनिवार्य रुपमा सुन्नैपर्ने हुन्छ । र, यसमा नानाथरीका कथा सुनाइन्छ । जसले उ मानसिक र शारिरिक रुपले समेत गृहस्थ जिवनयापनका लागि तयार हुन सकोस् ।

पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपेर घुँडा र खुट्टा डाम्ने गरिन्छ । तर त्यही बेहुली गर्भवती छिन् भने सितल टेमी दिइने चलन छ । अहिले नव परिवेश, नव युगमा केहि नयाँ विचारधाराका लागि यो विधि अव्यवहारिक, अन्धविश्वासी, रुढीवादी परम्परा हो रे ! जबकि यो धार्मिक सांस्कृतिक मान्यताको प्रतिक हो । यो विधि गर्नु अर्थात डाम्नुको आफ्नै अर्थ छ । यो विधि गर्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खेप्ने हुनुपर्छ भन्ने अर्थमा अर्थयाइएको पाइन्छ ।

यही सन्दर्भमा धनुषाको देवडिहाकी नेहा झाले भनिन्, ‘यो महिला हिंसा त पक्कै होइन । बल्कि आस्था र विश्वासको प्रतीक हो । यसो गर्नाले छोरी बुहारीको जिवनमा दुःख आउँदैन, उनीहरू घरपरिवारलाई मिलाएर चल्न सक्छन्, परिवारलाई जोडेर राख्न सक्छन्, सानो सानो कुरामा आतिदैनन्, सानो पीडाहरुमा हाँस्न सक्छन्, जबसम्म बाँच्छे भाग्य सौभाग्य बनिरहन्छ भन्ने विश्वास हो । कतिले टेमीलाई हिंसा, दुर्व्यवहारको नाम पनि दिएकै हो । यहाँसम्म कि कतिले त टेमी डाम्नुको अर्थमा पनि अनर्थ लगाएर भन्छन् कि गल्ति गरिस भने यसरी नै डाम्छु । यस्ता सोचका मानिस पनि छन् हाम्रो समाजमा । म यसलाई नकार्दिन ।’

झा भन्छिन्, ‘मेरो दृष्टिमा मधुश्रावणी टेमी हाम्रो बाबा पूर्खा देखी नै चलिआएको सांस्कृतिक परम्पराको प्रतिक हो । जसलाई हामी नव पिढीले बचाउनु छ । हामी मिथिलाञ्चलबासी संस्कृति परम्पराले चिनाउँछौ । रहयो कुरा यसलाई हिंसाको उपमा दिनेहरू यसमा म के भन्न चाहन्छु भने मधुश्रावणी अवधिभर नवविवाहिताले न चुल्हो बाल्छन, न त जुठो न कुचो छुन्छन् , केही काम गर्नै पर्दैन । आफूले खाने खाना पनि अरूले ल्याइदिन्छन् । बरू रानी महारानी जस्तो महसुस हुन्छ । राम्रो राम्रो परिकार खास व्रत बस्नेकै लागि बनाइन्छ । जे होस् मैले त एकदम रमाइलो गरें । टेमीलाई लिएर यसरी नकारात्मक नसोच्नु पर्ने ।’

‘म त झन ससुरालीमा मनाउँदैछु र मलाई कति आनन्द, खुशि भयो, मैले कति रमाइलो गरे त्यो म शब्दमा भन्न सक्दिन, उनले अगाडि भनिन, ‘हो टेमी सुनेर पहिला त डर लागेकै थियो । तर जब यो पर्वमा कथा सुने र त्यस पछाडिको अर्थ थाहा पाए अनि मैले एउटा कूरा पक्कै बुझें कि यो विध हो । विध हो विध जस्तै गरिन्छ । अरूले त १५ दिन गरेको होला मैले ४५ दिन गरें । त्यो पनि नियम निष्ठापूर्वक र म पनि अहिलेकै युगकी केटी हुँ । मलाई गर्व लाग्छ मेरो सँस्कार र संस्कृतिप्रति ।’

त्यस्तै अर्की नवविवाहिता रोहिनी झाले भनिन्, ‘मधुश्रावणी पर्व नियम निष्ठाले यतिका दिनसम्म गर्यौं भने टेमी गर्दा के नै हुन्छ र ? हुनत मधुश्रावणीलाई हनिमुन महिना पनि भनिन्छ । श्रीमान श्रीमती बीचको सुमधुर सम्बन्धले यसलाई अझ प्रगाढ बनाउँछ । टेमी – नारी गुण, सहनशीलता र समर्पणको प्रतिक हो । हाम्रो मिथिला परम्पराक लोक संस्कृति आस्थासँग जुडेको विधि हो । भनिन्छ जोसँग माया हुन्छ त्यहाँ त मानिसले केही पनि गर्न सक्छन् । टेमी त सानो कुरा हो । महिलाले त एउटा नव जिवलाई जन्म दिने क्षमता राख्छिन् ।’