बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम, १२ बैशाख । धनुषामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा महोत्तरी पिपरा गाउँपालिका–७ का २१ वर्षीय अतुल चौधरीको ज्यान गएको हो ।
प्रहरीका अनुसार चितवनबाट गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त मोटरसाइकलमा पछाडि सवार महोत्तरी जलेश्वर नगरपालिका–१ की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन् ।
उनको जनकपुरधामस्थित एक निजी न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ का ३७ वर्षीय युवराज राईलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


