जनकपुरधाम, २७ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवारामपुरस्थित महादेव मन्दिरमा जारी भौतिक निर्माण कार्य गुणस्तरहिन रहेको देखिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरको संसदीय विकास कोषको रकम मध्ये २४ लाख ७५ हजारको लागतमा महादेव मन्दिरमा जारी निर्माण कार्य गुणस्तरहिन रहेको देखिएको हो ।

शनिबार दिउँसो निर्माण कार्य भइरहेको स्थलमा स्थानीयवासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा प्रयोग गरेको पाइएको थियो ।

इस्टिमेटको आधारमा काम हुनुपर्नेमा मन्दिरकै माटो काटेर भरिएको र मन्दिरको प्राङ्गणमा गरिएको पीसीसी ढलानमा रडको प्रयोग नै नगरिएको देखियो ।

मन्दिरमा कम्पाउन्ड्री वाल र पीसीसी ढलानका लागि आफूले सुरुमा ३० लाख रुपैयाँ छुट्टयाएपनि पछि रकम अभाव हुँदा २४ लाख ५० हजार मात्रै दिएको र गुणस्तरीय काम गर्न निर्देशन दिएको प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले बताए ।

उनले आफूले मन्दिरको अवस्था जीर्ण रहेको देखेपछि त्यसको सौन्दर्यीकरणका लागि बजेट छुट्टयाएको र यसमा अहिले गुणस्तरहिन काम भइरहेको सुन्दा आफू पनि आश्चर्यमा परेको बताए ।

करिब ४ दिनदेखि जारी रहेको मन्दिरको भौतिक निर्माण कार्य रातारात भईरहेको र त्यसमा कुनै गुणस्तरियता नरहेको स्थानीयले बताए ।
नेकपा एमालेका कार्यकर्तासमेत रहेका उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खत्वेलाई निर्माण कार्यका लागि कसले कति बजेट दिएको हो ? यसको इस्टिमेट कहाँ छ ? काम किन गुणस्तहिन भइरहेको छ ? भन्नेबारे सोध्दा उनले आफूलाई यसबारे केही जानकारी नरहेको बताए ।

स्रोतका अनुसार महेन्द्र खत्वेलाई नामका लागि मात्रै उपभोक्ता समितिको अध्यक्ष बनाइएपनि त्यहाँ नेकपा एमालेका कार्यकर्ता दीपनारायण साहको हालिमुहाली रहेको छ । साहले नै सबै काम गराईरहेका छन् । उनले आफ्नो हिसाबले मन्दिरको सौन्दर्यतालाई ध्यानमा नराखि गुणस्तरहिन काम गराइरहेका छन् ।

निर्माण कार्यमा गुणस्तरहिन सामग्रीको प्रयोग गरिएको र मापदण्ड अनुसारको काम पनि नभइरहेको भन्दै स्थानीय असन्तुष्ट छन् ।स्थानीयका अनुसार त्यहाँ हतारमा काम भइरहेको र निर्माण सामग्रीहरु गिट्टी, बालुवा, ढुङ्गा पनि कमसल प्रयोग गरिएको छ ।

स्थानीयका अनुसार नियमनकारी निकायले पनि यतिबेला राम्रो अनुगमन नगर्ने हुँदा उपभोक्ता समिति तथा ठेकेदारको बढि लापरवाही चल्ने गर्छ । मापदण्ड विपरित काम गर्ने, गिट्टी, बालुवा, ढुङ्गा गुणस्तरहिन हुने, सिमेन्ट कम मात्रा राखिने गरिन्छ । यसरी बनेका संरचनाहरु कमजोर हुने, भत्किने र प्रयोगमा नआउने हुन्छन् ।

पत्रकारलाई पैसाको लोभ

मन्दिरमा भइरहेको निर्माण कार्यबारे स्थानीयवासीले दिएको सूचनाका आधारमा पुगेका पत्रकारलाई नेकपा एमालेका कार्यकर्ता दीपनारायण साहले आर्थिक प्रलोभनमा पार्ने प्रयाससमेत गरेका थिए ।

निर्माण कार्यस्थलको तस्बिर खिचेर उपभोक्ता समितिको अध्यक्षसँग जानकारी लिई फर्किरहेका बेला मोटरसाइकल स्र्टाट गर्ने क्रममा साहले पत्रकार दिपक कर्णलाई आफ्नो पर्सबाट पैसा झिकेर यो लिनुस् चियापानी खानुहोला, गाडीमा पेट्रोल भराउनुहोला र कृपया समाचार नलेख्दिनुहोला भन्दै प्रलोभनमा पार्ने प्रयास गरेका थिए ।

उनले जबरजस्ती पैसा दिन खोजेपनि पत्रकारले पैसा लिएनन् । साहले तपाईंहरु किन बेकारमा यस्ता कुराहरुमा फस्नुहुन्छ भन्दै थर्काउने प्रयाससमेत गरेका थिए ।

पत्रकारप्रतिको दृष्टिकोण परिवर्तन होस्

कुनै सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्छ ? कर्मचारी÷नेताले भ्रष्टाचार गर्दा कसले औंलो ठड्याइरहेको हुन्छ ? जवाफ प्रष्ट छ– पत्रकार ।

काठमाडौंको खुलामञ्चमै सटर हालेर सार्वजनिक स्थल बेचिँदा त्यो दृश्य दुईतिहाईको सरकारले देखेकै थिएन । कसले खुलामञ्चको बिक्री प्रकरण बाहिर ल्यायो, जसले गर्दा डोजर चलाउन महानर बाध्य भयो ? स्पष्ट छ– पत्रकारले ।

जब पत्रकारकै कारण सरकारी मान्छेहरुले मनमौजी गर्न पाउँदैनन्, जब पत्रकारकै कारण दलालहरुले सार्वजनिक जग्गा मिच्न पाउँदैनन्, तब उनीहरुले पत्रकारमाथि कस्तो व्यवहार गर्लान् ? तिनले प्रेस स्वतन्त्रताबारे कस्तो धारणा बनाउलान् ? तिनीहरुले पत्रकारलाई गाली गर्नु अनौठो होइन ।

स्वाभाविकै हो, त्यस्ता भ्रष्टाचारी र देश लुट्नेहरुले पत्रकारको विरोध गर्छन् । भेटे भने पत्रकारलाई आफ्नै कार्यकक्षमा भर्कुछन्, लोपार्छन् । धम्की दिन्छन् । किन्न र प्रभावमा पार्न खोज्छन् । जाँड खुवाएर आफ्नो बनाउन खोज्छन् । देश लुट्ने लुटेरा र भ्रष्टाचारीहरु आफ्नो विरोधमा कसैले पनि लेख्न/बोल्न नपाओस् भन्ने चाहन्छन् ।

हामी एकपटक सोचौं त– पत्रकारले राज्यका विकृतिहरु औंल्याउन पाएनन् र भ्रष्टाचारीलाई नांगेझार बनाउन पाएनन् भने यसबाट कसलाई फाइदा पुग्छ ? आम जनतालाई ? वा तिनै भ्रष्टाचारी र देश लुट्नेहरुलाई ?

एकपटक गम्भीर भएर सोचौं– नेपालमा पत्रकारहरुलाई विकासविरोधीहरु, नकारात्मक भावना फैलाउनेहरु, निराशा फैलाउने तत्वहरु वा समृद्धिका बाधक इत्यादि भन्दै स्वतन्त्रतापूर्वक लेख्न/बोल्न नदिने हो भने के यो देशको विकास चाँडो हुन्छ ?