जनकपुरधाम, १० बैशाख । प्रतिनिधिसभा सदस्यतर्फको उपनिर्वाचनका लागि आइतबार बिहानदेखि मतदान जारी रहेको छ ।

बारा क्षेत्र नम्बर–२, चितवन क्षेत्र नम्बर–२ र तनहुँ क्षेत्र नम्बर–१ मा आइतबार बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत ४ मंसिर प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएका तथा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि तीनवटै क्षेत्रमा उपनिर्वाचन भइरहेको छ ।

समाचार तयार पार्दासम्म बारा–२ मा २५, चितवन–२ मा ३६ र तनहुँ–१ मा ३० प्रतिशत मत खसेको छ ।