जनकपुरधाम, ७ बैशाख । सिरहाको मिर्चैया नगरपालिकामा प्रहरी र स्थानीयबासीबिच झडप भएको छ ।

बिहीबार मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीयबासी र प्रहरीबीच झडप हुँदा मिर्चैयाको गुदरी बजार तनावग्रस्त बनेको थियो ।

बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै मिर्चैया गुदरी बजार हुँदै स्थानीय व्यापारीहरू जुलुससहित नगरपालिका कार्यालय पुगेका थिए ।

प्रदर्शनकारीहरुले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारीले नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।

सोही क्रममा तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउण्ड हवाईफायर र ११ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । उनले झडपका क्रममा पाँचजना प्रहरी घाइते भएको बताए ।

प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा मेयर यादव चढ्ने गाडीको सीसासमेत फुटेको छ । प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट स्थानीय संगीता कुमारी साह र दिनेशकुमार यादव घाइते भएको बताइएको छ । घाइते दुबैजनाको उपचार भइरहेको छ ।

प्रदर्शनकारीले प्रहरीले घर घरमा गएर कुटपिट गरेको आरोप लगाएको छ । गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।