बारा, ७ वैशाख । पाँचदलीय गठबन्धनको तर्फबाट बारा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले समग्र विकासकालागि निजगढ विमास्थल निर्माण, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, सिंचाई, मलखाद, विपन्नलाई आवास लगायतका कामहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बाराको गढीमाइमा विहीबार आयोजित पाँचदलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

निजगढ विमानस्थल निर्माण कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै जनता समाजवादी पार्टीका अध्यक्ष यादवले मुआब्जा दिएर व्यवस्थित बसोबास गराउनुपर्ने तथा कबैको छोटी भन्सार कोरोना समयमा बन्द रहेकोले चालु गराउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

चुनावी अभियानका क्रममा जनताको घरदैलोमा जाँदा बारा जिल्लामा अत्यन्तै सम्भावना रहँदारहँदै पनि दुःख र अभाव रहेको अनुभूति गर्न पाएको अध्यक्ष यादवले चर्चा गरे ।

बारामा धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले भने ‘राजमागदेखि बोर्डर सिमासम्म चार लेनको पक्की सडक जोड्ने, नागरिकताका लागि लडाई लडेकै कारण लाखौंले नागरिकता पाएको हो, राष्ट्रपतिबाट प्रमाणिकरण भईसकेपछि नागरिकता समस्या पनि समाधान हुनेछ ।’

गढीमाइलाई ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै यादवले भने ‘सिंचाई समस्या समाधान गर्न विद्युतीय सिंचाई प्रणाली, किसानलाई मलखाद, घरबारविहिन परिवारलाई जनता आवास योजना तहत घर निर्माण कार्य अगाडि बढाउनु जरुरी छ ।’

गाउँसम्म पुग्ने सडकहरु निर्माण, विद्यालयमा गुणस्तरीय शिक्षा, अस्पताल एवम् हेल्थपोष्टहरुमा गुणस्तरीय सेवालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने यादवले बताए । जनताले अनुभूति हुने गरी बाराको समग्र विकास र समृद्धिको पथमा अगाडि बढाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता दोहर्याए ।