उपेन्द्रको जीत हिमाल, पहाड र मधेसको जीत हुनेछ : प्रधानमन्त्री प्रचण्ड

बारा, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव देश र मधेसको नेता भएकोले उनको जीत हिमाल, पहाड र मधेसको जीत हुने बताएका छन् ।
बाराको गढीमाइमा विहीबार आयोजित पाँचदलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवार उपेन्द्रलाई भारी मतले जिताउन आग्रह गरेका हुन् ।
उनले भने, ‘उपेन्द्र यादव देश र मधेसको नेता हो, समग्र विकास निर्माण कार्य अगाडि बढाउन उनको ठूलो योगदान छ, नेपालको राजनीतिक आन्दोलनहरुमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, अहिले धेरै लडाई लड्नु छ, मधेस, हिमाल र पहाडले जित्दैछ ।’
संसद बिघटनकारी विरुद्ध पाँचदलीय गठबन्धन निर्माण भएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले उपेन्द्रलाई जितेर आउन आफुहरुले नै बारा–२ मा पठाएको चर्चा गरे ।
‘उपेन्द्रजीलाई बधाई छ, उनको विजयीले देश र मधेसको परिवर्तन र अग्रगमनको विजय हुनेछ’ उनले भने ‘निजगढ विमानस्थलको शिलान्यास गरि निर्माण प्रक्रिया अगाडि बढाईनेछ, गढीमाइको विकासका लागि अन्तर्राष्ट्रियस्तरको विकास कोष स्थापना गर्न अगाडि बढ्ने छौं, नागरिकता समस्यालाई गम्भीरताका साथ लिएका छौं, चाँडै प्रमाणिकरण हुन्छ, रोक्ने राष्ट्रपति हैन फुकाउने राष्ट्रपति आउनुभएको छ ।’
बन्द रहेका सबै भन्सार खुलाउने पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विद्युतीय सिंचाई प्रणाली मार्फत तराई मधेसमा सिंचाई समस्या समाधान गरिने बताए ।
‘देशको अर्थतन्त्रमा क्रमिक रुपले सुधार हुँदै गएको छ, राजश्व बढ्दै गएको छ, विदेशी मुद्रा संचिति भएको छ’ प्रधानमन्त्री दाहालले भने ‘भ्रष्टाचार, सुशासन र बेथिति अन्त्य गर्नेछौं, सुशासन, समाजिक न्यायलाई बगाडि बढाउनेछौं, पाँच वर्षमा देशमै रोजगारी दिनेछौं ।’
उपेन्द्र यादवलाई जिताउन आग्रह गर्दै यहाँको समस्या समाधान गर्न पाँच दल उनको साथमा रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।
वृहत आमसभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव देशकै योग्य नेता भएकोले जनताको सेवा गर्न जिताउन आग्रह गरे ।
‘मधेस र मधेशी जनताको अधिकारका लागि पटक पटक उपेन्द्रजीले मसँग झगडा गर्नु भएको छ’ उनले भने उनलाई भारी मत अन्तरले जिताउन आग्रह गर्दछु ।’
नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देश बनाउन, संविधानको रक्षा र जनताको समस्या समाधान गर्न पाँचदलीय गठबन्धन थप मजबुत हुनुपर्ने बताए । उपेन्द्र यादवलाई सबैले अत्यधिक मत दिएर जिताउनुपर्नेमा जोड दिँदै उनले भने ‘सबै समुदायको समस्या समाधान गर्न पाँचदलीय गठबन्धन प्रतिवद्ध छ ।’
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले पाँचदलीय गठबन्धनले संविधान संशोधन, नागरिकता सम्बोधन, सामाजिक न्याय, विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा र बारा–२ को समग्र विकासका लागि उपेन्द्र यादवलाई जिताउन उनले जनतासँग आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


