मधेस प्रदेश : मुख्यमन्त्री र मन्त्रीहरू उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त

जनकपुरधाम, ७ बैशाख । यही वैशाख १० गते हुनलागेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि मधेस प्रदेश सरकारका बहालवाला मुख्यमन्त्री र मन्त्रीहरू पनि चुनावी अभियानमा सरिक हुँदै आएका छन् ।
११ वटा मन्त्रालय रहेको मधेस सरकारको अधिकांश मन्त्रालयहरू अहिले खाली देखिन्छन् । मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री संजय यादवसहितका मन्त्रीहरू बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा केन्द्रीत भएको देखिन्छन् । उनीहरू विगत लामो समयदेखि मन्त्रालयमा हाजिर भएका छैनन् ।
मुख्यमन्त्री यादव गत वैशाख ३ गतेदेखि निरन्तर कार्यालयमा हाजिर हुन छाडेका छन् । उनी त्यसअघि पनि दैनिक कार्यालय नगएपनि कहिँलेकाहीँ उपस्थित हुने गरेका थिए । मुख्यमन्त्री यादव अहिले गृह जिल्ला बारामा छन् । त्यहाँ उनी दर्जनबढि चुनावी कार्यक्रम गरिसकेका छन् ।
यस्तै अर्थमन्त्री संजय यादव पनि मन्त्रालयमा उपस्थित छैनन् । मन्त्री यादव उपनिर्वाचनका लागि अहिले बारा झरेका छन् । उनी पनि विगत लामो समयदेखि मन्त्रालयमा हाजिर भएका छैनन् ।
मधेस सरकारको मन्त्रिपरिषद्मा जसपाका ४ मन्त्री र एक राज्यमन्त्री, जनमतका २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका १ मन्त्री र १ राज्यमन्त्री छन् । अन्य मन्त्रालयहरू मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन् ।
यता, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह र राज्यमन्त्री शेख अबुल कलाम आजाद पनि मन्त्रालयमा नजर आउँदैनन् । मन्त्री साह विगत ३ दिनदेखि मन्त्रालयमा कदम पनि नराखेको मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । यता, राज्यमन्त्री आजाद भने कहिल्यै मन्त्रालय नपुग्ने गरेको ति कर्मचारीले बताए ।
त्यस्तै, खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवार भने मन्त्री बनेदेखि एक दिन पनि मन्त्रालय गएका छैनन् । उनको मन्त्रालयमा जानकारी लिन खोज्दा सो मन्त्रालयमा अहिलेसम्म सूचना अधिकारी र प्रवक्तासमेत तोकिएको छैन् ।
सबै मन्त्रीहरू अहिले उपनिर्वाचन हुने क्षेत्र बारा–२ मा व्यस्त छन् । उनीहरू गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउनका लागि बाराका गाउँ–गाउँ पुग्ने गरेका छन् । चुनावी गतिविधिका कारण मन्त्रीहरू गाउँ केन्द्रित भएको मन्त्रालयका कर्मचारी बताउँछन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यस उपनिर्वाचनमा सरकारी संयन्त्रको व्यापक दुरुपयोग भइरहेको दाबी गरेका छन् ।
उनले प्रश्न गर्दै भने, ‘के मुख्यमन्त्री जनकपुरमा बस्नुभएको छ ? मुख्यमन्त्रीले आफ्नो मन्त्रिपरिषदको बैठक राख्नुभएको छ ? मुख्यमन्त्री बारामा दिनरात सरकारी गाडीमा घुमिरहेका छन् । उनका मन्त्रीहरू यहीँ छन् । अर्थमन्त्री यहीँ घुमिरहेका छन् । प्रहरीको संरक्षणमा सरकारी गाडी लिएर उनीहरू घुमिरहेका छन् ।’
उनले भने, ‘अस्ति म गाउँमा जाँदा हाम्रो पार्टीका झण्डाहरू प्रहरीले निकाल्दै थिए तर त्यही ठाउँमा जसपाको झण्डा लगाउने काम भएको थियो । हाम्रो डिजे चल्न दिँदैनन्, तर अहिले पनि अर्को पार्टीको डिजे चलिरहेको छ । यसरी प्रहरी प्रशासनको दुरुपयोग गरिँदैछ । सत्ताको दुरुपयोग भइरहेको छ । हरेक वडामा उहाँहरूले ठूलो भोजभतेर गर्नुभएको छ । त्यसमा कुनै रोकटोक भएको छैन ।’
एक स्थानीयले निजी नम्बर प्लेटमा सादा पोशाकको ‘पीएसओ’ लिएर मुख्यमन्त्री चुनाव प्रचारप्रसारमा व्यस्त रहने गरेको बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मुख्यमन्त्री यादवले आफ्नो पूरा ताकत लगाएको दाबी गरेका छन् ।

जसपाको तर्फबाट मुख्यमन्त्री यादव अहिले बारा–२ मा चुनाव प्रचारप्रसारको मुख्य कमान्डर नै बनेका छन् ।
प्रदेश सरकार कसरी चलिरहेको छ ?
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिव हेमन्त राज निरौलाले मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित नहुँदैमा प्रदेश सरकारका कामकारबाही नरोकिएको दाबी गरेका छन् ।
फरकधारसँग कुरा गर्दै उनले भने, ‘उहाँहरू सरकारको राजनीतिक नेतृत्वकर्ता हुनुहुन्छ, उहाँहरूले नीतिगत र राजनीतिक रुपमा सरकारलाई नेतृत्व गर्ने मात्रै हो त्यसैले मन्त्रालयबाट दैनिक हुने कुनै पनि काम कारबाही रोकिएको छैन् ।’
उनले आवश्यक कुराहरूमा उहाँहरूकै नीतिगत निर्देशनहरू कार्यान्वयन भइरहेको जानकारी दिए । उनले ऐन, कानुनकै जगमा टेकेर प्रशासनिक यन्त्रबाट हुने कामहरू भइरहेको बताए ।
उनले भने, ‘कतिपय प्रशासनिक यन्त्रले गर्नै नमिल्ने तर गर्नैपर्ने बाध्यतामुलक कामहरू भने फोन सम्पर्कबाट पनि हुन्छन् ।’
उनले गर्नैपर्ने काम यसअघि नै मन्त्रीबाट भइसकेकाले कुनै अप्ठ्यारो नपर्ने बताउँछन् । मुख्यमन्त्री नभएकै कारण मन्त्रालयको काम कारबाहीमा कुनै समस्या नभएको उनको दाबी छ ।
नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि सो को अधिकार, कर्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख छ ।
प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश सरकारको प्रमुख कार्यकारी निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने कानूनी व्यवस्था रहेको हुँदा मधेस प्रदेशमा पहिलोपल्ट २०७४ फागुन ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन भई कार्य प्रारम्भ भइसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अधिकांश सबै मन्त्रालयहरु प्रदेश सरकारको निर्णय अनुसार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर चुरोट कारखाना भित्रका पुराना भवन मर्मत सम्भार गरि कार्य गरिरहेका छन् ।
२०७९ पुष २९, २०७९ माघ २० र २३ गते भएको पुर्नगठन पश्चात यस प्रदेशमा मुख्यमन्त्री लगायत मन्त्री र राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


