धनुषाबाट बन्द प्रशिक्षणका लागि ६ जना खेलाडी छनोट

जनकपुरधाम, ५ बैशाख । राष्ट्रिय स्तरको यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्ला जिल्लाबाट खेलाडी छनोट चरणको कार्य सम्पन्न भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय स्तरको यु–१६ खेल प्रतियोगिताको आयोजना गर्न लागेकोले जिल्ला जिल्लाबाट खेलाडी छनोट गरिएको हो ।
यसैबिच, धनुषा क्रिकेट संघले पनि यस जिल्लाबाट खेलाडी छनोट गरेको संघका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले बताए ।
पहिलो चरणमा जिल्लाबाट खेलाडी छनोट गरेर जिल्लाको टिम बनाइने उनले जानकारी दिए । त्यसपछि मधेस प्रदेशका जिल्लाबाट छनोट गरिएका खेलाडीहरुबिच प्रदेशस्तरको प्रतिस्पर्धा गराइने र त्यसबाट छनोट हुने टिमले काठमाडौंमा आयोजना हुने यु–१६ खेल खेल्ने उनले जानकारी दिए ।
धनुषाका प्रशिक्षक अन्सारुल राइनले बैशाख ११ गतेदेखि बाँकेको कोहलपुरमा हुने प्रदेश स्तरीय प्रतियोगताका लागि धनुषा टिमबाट बन्द प्रशिक्षणमा ६ जना खेलाडी छनोट भइसकेको जानकारी दिए ।
धनुषा टिमका कप्तानसमेत रहेका अलि अकर अन्सारी, चन्दन यादव, रुपेश यादव, साजन यादव, साइमन रोय र रोहन यादव प्रदेश स्तरीय टिममा छनोट भएका छन् ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट छनोट भएका खेलाडीमध्येबाट प्रदेशको टोली छनोट गर्न प्रतियोगिता हुने पूर्वप्रशिक्षक नविन सिंहले बताए ।
प्रदेशबाट छनोट भएको टोलील नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेछ ।राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट एसिसी यु–१६ नेपाली टोलीको छनोट हुने बताइएको छ ।
खेल र खेलाडीको विकास तथा युवाहरुलाई खेलप्रति रुची जगाउन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


