जनकपुरधाम, ४ बैशाख । जनकपुरधामस्थित जनकपुर न्यूरो अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रगतको अभाव भइरहेको अवस्थालाई दृष्टिगत गर्दै सो अस्पतालले सोमबार अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको अस्पतालका व्यवस्थापक संजयकुमार मण्डलले जानकारी दिए ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका सञ्चालक समेत रहेका कन्सल्टेन्ट न्यूरो सर्जन डा. विजय राउतले बताए ।

अस्पतालहरुमा अहिले रगतको निकै अभाव रहेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालका चेयरम्यान इन्जिनियर अजय राउतले जानकारी दिए । रक्तदानले अरुको ज्यान जोगाउन सहायक सिद्ध हुने भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

रक्तदान कार्यक्रमलाई संघ संस्थाहरुले पनि आफ्नो वार्षिक क्यालेण्डरमा समावेश गर्नुपर्ने उनीको सुझाब थियो ।

अस्पतालद्वारा आयोजित रक्तदान कार्यक्रममा कन्सल्टेन्ट न्युरो सर्जन डा. विजय राउत, चेयर म्यान अजय राउतलगायतकाले रक्तदान गरेका थिए ।