जनकपुरधाम, २ बैशाख । मिथिलाञ्चलमा शनिबार जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइएको छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजनले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ ।

जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो । यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ । यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ ।

यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन् ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्धेश्य रहेको छ । परिवारका ज्येष्ठ सदस्यले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन । यो पर्वमा सूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद दिन्छन् ।

जुडशीतल प्रकृति पूजाको पर्व हो । मैथिली सँस्कृतिका जानकार डा. भोगेन्द्र झा भन्छन्,‘ जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ ।

विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन(बैशाख २ गते) राती चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता चलिआएको छ ।’

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको झा बताउँछन् । यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ । साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ ।

यसै दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको ईनार र पोखरीमा नयाँ जलले सिंचित गर्ने गर्छ । यो पर्वको साईत पारेर ईनारको पानीमा चुना राखि तिनलाई स्वच्छ बनाउने ग्रामिण चलन छ ।

आरामको क्षणमा आत्मीयता बढाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको छ ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ ।

विक्रम सम्वतको आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । जुडशीतल दुई दिवसीय पर्व हो । पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ । गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरु भएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात वैशाख २ गते अति नै भव्य र धुमधामका साथ मनाइन्छ ।

यसैबीच, जनकपुरधाममा सेभ द हिस्टोरिकल जनकपुरले गंगासागर पोखरीको घाटमा, लायन्स क्लवले जानकीचोकस्थित अंगराज सरको घाटमा र राम युवा कमिटीका युवाहरुले कमिटिको प्राङ्गणमा माटो खेलेर जुडशीतल मनाएका छन् ।

प्रदेशसभा सदस्य रामअशिष यादवले जुडशीतल पर्वले मानवलाई प्रकृतिको मुख्य अंस माटो र जलसँग अपनत्व बढाउनुका साथै जिवनका लागि त्यसको महत्व दर्शाउने बताए । उनले माटो र जलबिनाको जिवन कुनैपनि प्राणीले सोच्न नसक्ने बताए ।

जानकीचोकका युवा अगुवा सुशील कर्णले माता जानकी स्वयं माटोबाटै उत्पती भएकोले माटोको महत्व रहेको र जुडशीतलले मानवलाई त्यही माटोको परिचय गराउने काम गरेको बताए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका अगुवाहरुले सतुवाइन मनाउनुका साथै शुभकामना आदानप्रदानसमेत गरि नयाँ वर्ष मनाएका छन् ।