जनकपुरधाम, १३ माघ । नेपालमा वैदेशिक रोजगारीको सवल पक्ष अर्थात धनआर्जन, रेमिटेन्स तथा सीपका विषयहरु चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छाँयामा पर्दै आएका छन् । यस्तै, छाँयामा पर्ने पात्र मध्येकी एक हुन्, जनकपुरधाम–४ शान्तिनगर बस्ने ५२ वर्षीय मुन्नी खातुन ।

बिहेको १३ वर्षपश्चात् पतिको अचानक मृत्यु भएपछि ७ जना नाबालक सन्तानहरुको पालनपोषणका लागि २०७० सालमा मुन्नी आफ्ना सन्तानहरुलाई दिदीको जिम्मा लगाउँदै वैदेशिक रोजगारीका लागि साउदी उडिन् । ७० हजार रुपैयाँ ऋण लिएर उनी एजेन्टमार्फत घरेलु कामदारको रुपमा साउदी पुगिन् । तर, विदेश गएको दुई वर्षपछि मुन्नीको मोबाइलमा उनको दिदी बितेको खबर गयो । मुन्नी छाँगाबाट खसेझैं भइन् ।

आफ्ना सन्तानहरुलाई पालनपोषण गर्दै आएकी दिदीको मृत्यु भएपछि उनलाई स्वदेश फर्कनुपर्ने बाध्यता भयो । मुन्नी स्वदेश फर्केर जसोेतसो आफ्ना सन्तानहरुको पालनपोषण गर्न सुरु गरेपनि साहुसँग ऋण लिएको पैसा अझै तिर्न सकेकी छैनन् ।

फुस्रो अनुहार, जिग्रिङ्ग परेको कपाल, अनि थाकेका आँखा लिएर टुसुक्क बसेकी मुन्नीको पीडा पोखियो । अरुको श्रीमान्, छोरा, भाइ, भतिजाले विदेशबाट पठाएको पैसाले घर चल्छ । मलाई त आफैं विदेश जानुपर्ने अवस्था आयो । कलिला उमेरका सन्तानहरुको मोहमाया परित्याग गरेर जसोतसो छातीमाथि मुक्का हानेर गएँ । तर, पैसा कमाउनुभन्दा बढि अहिले ऋणकै बोझले चिन्तामा छु । उनले भनिन् ‘साउदी जाने बेलामा काढेको ऋण तिर्न सकेको छैन, बालबच्चाको बिचल्ली छ ।’

उनले आफू साउदी गएपनि त्यहाँ आफूलाई शान्ति भने नमिलेको सुनाइन् । दैनिक २१ घण्टासम्म काम गर्थें, तर तलब अत्यन्त न्यून थियो । पीडा सहेरै जसोतसो काम गरिरहेकै थिएँ । मुन्नी भक्कानिंदै भन्छिन्, ‘म विदेश भएको वेला दिदिको मृत्यु भयो । दुई वर्षपछि नेपाल फर्कें । अहिले घरमा कलिला सन्तानहरुको विजोग छ, उल्टै ऋणको बोझले सताईरहेको हुन्छ ।’

‘त्यहाँ झन ८ जनाका लागि खाना पकाउने, घरको सरसफाइ गर्ने, कपडा धुने लगायत काम गर्नुपर्थ्यो । तर, त्यहाँको भाषा, चालचलन, कानून, धर्म–संस्कृतिबारे जानकार नहुँदा १ वर्षसम्म नसोचेको दुःख पाएँ, ’उनले भनिन्, ‘मासिक तलब भनेको जस्ते थिएन । दलालले भने जस्तो खाने–बस्ने सुविधा पनि थिएन । काम भने थेग्नै नसक्ने हुन्थ्यो ।’

श्रम स्वीकृति विना अवैध ढङ्गले गएकाले सबै पीडा सहेरै जसोतसो काम गरेको उनी सुनाउँछिन् । घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूका लागि सरकारले निःशुल्क भिसा, निःशुल्क टिकट भनेको छ । तर, यहाँका महिला श्रम स्वीकृति नलिई दलाल मार्फत खाडी मुलुक गइरहेको मुन्नी बताउँछिन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर आफू विदेशिएको उनी सुनाउँछिन् । तर, अहिले मानसिक तनावका कारण बाँच्ने रहर नै जाग्दैन उनले सुनाइन् ।

रोजगारीका लागि बिदेशिने महिलाको संख्या पछिल्लो समय जे–जसरी बढ्दै गएको छ, त्यससँगै दुःख र वेदनाका कथाहरू पनि त्यसरी नै थपिँदै गएका देखिन्छन् । घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै पनि कतिपय महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगारीलाई रोज्नु महिलाहरूको रहर नभएर बाध्यता हुने गरेको छ ।