पर्सा, ३० कार्तिक । प्रहरीले १५ हजार नक्कली मतपत्रसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको १५ हजार नक्कली मतपत्रसहित भारतको पश्चिम चम्पारन बस्ने ४० वर्षीय ईजाजत अहमद पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट नक्कली मतपत्र नेपाल ल्याउँदै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल र नक्कली मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।