डा. चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको घटना सार्वजनिक भएसँगै मधेसी आयोगको चासो

काठमाडौं, २७ कार्तिक । राजधानीको एक अस्पतालमा कार्यरत एकजना चिकित्सकले आफ्नो श्रीमतीलाई चरम यातना दिएको घटना सार्वजनिक भएपछि मधेसी आयोगले चासो देखाएको छ ।
डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको घटना सार्वजनिक भएसँगै आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिंसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए ।
सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभएसम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए ।
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएका डा. पंकज चौधरीसँग नेहाको विवाह भएको थियो । नेहालाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । नेहाले सो घटना सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


