शहीद रन्जुका छोरा भन्छन् : मेरो आमाको नाम भजाएर धेरै व्यक्ति ओहदामा पुगिसके, हामी भने अहिले पनि विच्चलीमै छौँ (भिडियोसहित)

जनकपुरधाम, १९ बैशाख । जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको १० वर्ष पूरा भएको छ ।
२०६९ साल वैशाख १८ गतेका दिन जनकपुरधामको रामानन्दचोकमा बम विस्फोट भएको थियो ।
मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भयो ।
घटनाको १० वर्ष बितेपनि शहीद परिवारको पीडातर्फ अझै कसैको ध्यान केन्द्रित भएको छैन । मिथिला राज्य संघर्ष समितिको नाममा भजाउनेले लाखौं भजाए तर शहीद परिवारको अवस्था भने जस्ताको त्यस्तै छ । कसैले आफ्नो आमा, कसैले आफ्नो पति, कसैले सन्तान त कसैले आफ्नो सबथोक गुमाए । तर, उनीहरूको नाममा दर्जनौंले लाखौं कमाए ।
यस्तै पीडा भोगिरहेका छन, शहीद रन्जु झाको परिवारले पनि । सबैले आ–आफ्नो आमाको मुख हेर्ने दिन मनाइरहदा रन्जुका छोराहरू भने आफ्नो आमाको पुण्यतिथी मनाइरहेका छन् ।
रन्जुका कान्छो छोरा ज्ञानुकुमार झा आइतबार आफ्नो आमाको यादमा सामाजिक सन्जालमा बिलौना गरिरहेका थिए ।
उनले प्रत्येक वर्ष आफ्नो आमाको नाममा मिथिला राज्य संघर्ष समितिले दीप प्रज्वलन गरि औपचारिकता मात्र पूरा गरिरहे पनि आफुहरूको अवस्थाको बारेमा भने कसैले कुनै सोधखोजसमेत नगरेको आरोप लगाए ।
उनले भने, ‘मिथिला राज्य संघर्ष समितिका पदाधिकारीहरूले शहीद परिवारका लागि आफूहरूले धेरै काम गरेको दाबी गरिरहदा वास्तविकता भने बेग्लै छ ।’
बमकाण्ड पश्चात घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई गृहमन्त्रालयद्वारा १० लाख रुपैयाँ दिने, शहीद परिवारमध्येका कुनै एकजनालाई सरकारी जागिर प्रदान गर्ने, उच्च शिक्षा अध्ययनमा पनि छुट दिनेलगायतका परिपत्र नै जारी भएको थियो । तर, त्यसको कार्यान्वयनका लागि संघर्ष समितिले अहिलेसम्म पनि कुनै पहल नगरेको ज्ञानुको आरोप छ ।
उनले आफुहरूका लागि पहल गर्ने आश्वासन दिएका निकाय र व्यक्तिहरू नै आफ्नो आमा र मिथिला राज्य संघर्ष समितिको नाममा भजाएर खाने काम गरेको आरोपसमेत लगाए ।
उनले भने, ‘मेरो आमाको नाम भजाएर धेरै व्यक्ती ओहदामा पुगिसके । तर, हामी भने अहिलेसम्म पनि विच्चलीमै छौँ । घटना भएपछि सबैले आश्वासन दिन घरसम्मै पुग्थे तर, अहिले हामी कहाँ छौं? कुन अवस्थामा छौं? त्यसको अब सोधखोज पनि कसैले गर्दैनन् ।’
ज्ञानुले विगत १० वर्षमा समितिका कुनैपनी व्यक्तिले एकचोटी फोन गरेर पनि आफुहरूको हालचालसमेत नसोधेको दुःखेसो सुनाए ।
समितिका संयोजक परमेश्वर कापडिप्रती आक्रोशित हुँदै उनले भने, ‘समितिका संयोजक परमेश्वर कापडिलाई राराब क्याम्पसको मैथिली बिभागको प्रमुख बनाइदिएपछि उनी पनि चुप लागे । उनले मात्र आफ्नो ओहोदा हेरे । शहीद परिवार कुन अवस्थाबाट गुज्रिरहेका छन् त्यसको कुनै सोधखोज उनले पनि कहिलै गरेनन् । सबै आ–आफ्नै स्वार्थमा लिप्त छन् ।’
ज्ञानुले आफूहरू भने अहिले पनि धेरै पीडाबाट गुज्रिरहेको दुःखेसो सुनाए ।
https://www.facebook.com/deepak.karn.370/videos/326919372877389
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


